काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा ३३ लाख रुपैयाँ घुस प्रकरणमा प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेसहित चार जना पक्राउ परेका छन्। घुस रकम नगरपालिकाबाट बाहिर पठाउने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रकमसहितको कार र त्यसका चालकलाई नियन्त्रणमा लिएपछि प्रमुख प्रशासकीय अधिकृत घिमिरेसमेत पक्राउ परेका हुन्।
अख्तियार स्रोतका अनुसार घुसको लेनदेन भइरहेको सूचनाका आधारमा नगरपालिकामा पुगेको टोलीले ३३ लाख रुपैयाँ बरामद गरेको थियो। नगरपालिकाबाट रकम लिएर फर्किरहेको वाग्मती प्रदेश ०१–३५ च २६८७ नम्बरको कारलाई नियन्त्रणमा लिने क्रममा कारका चालक भुवन ढंगेलसहित अन्य व्यक्तिलाई पक्राउ गरिएको हो।
प्रमुख प्रशासकीय अधिकृत घिमिरेले आफन्तलाई बोलाएर घुस रकम व्यवस्थापन गरेको र रकम नगरपालिकाबाट बाहिर लैजान लगाएको आशंकामा अख्तियारले उनलाई समेत पक्राउ गरेको स्रोतले जनाएको छ। घिमिरेकै योजनामा ठूलो रकम नगरपालिकामै बुझेर आफन्तमार्फत बाहिर लैजान लागिएको अवस्थामा अख्तियारले रंगेहात नियन्त्रणमा लिएको स्रोतको दाबी छ।
यद्यपि, प्रमुख प्रशासकीय अधिकृत घिमिरेले घुस रकम लिने कार्यमा आफ्नो संलग्नता अस्वीकार गरेका छन्। घटनामा उनको भूमिका र अन्य व्यक्तिहरूको संलग्नताबारे अख्तियारले अनुसन्धान गरिरहेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।




प्रतिक्रिया