ADVERTISEMENT

रसुवा–भोटेकोशी बाढीले आर्थिक वृद्धि ३.७ प्रतिशतमा सीमित हुने


काठमाडौं । रसुवा–भोटेकोशी बाढीबाट उद्योग, ऊर्जा, यातायात तथा सेवा क्षेत्रमा परेको क्षतिका कारण चालु आर्थिक वर्ष २०८३/८४ मा नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ।

विश्व बैंकले सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट’ प्रतिवेदनअनुसार बाढीबाट जलविद्युत्, विद्युत् प्रसारण, यातायात तथा अन्य पूर्वाधारमा भएको क्षतिले उत्पादन र आर्थिक गतिविधिमा असर पार्नेछ। उद्योग क्षेत्रमा सबैभन्दा ठूलो प्रभाव पर्ने तथा व्यापार, यातायात, पर्यटन र वित्तीय सेवा पनि प्रभावित हुने अनुमान गरिएको छ।

तर क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण, निजी क्षेत्रको पुनःसञ्चालन र सार्वजनिक लगानी बढेसँगै आर्थिक गतिविधि सुधार हुने विश्व बैंकको अनुमान छ। त्यसका कारण आर्थिक वर्ष २०८४/८५ मा नेपालको आर्थिक वृद्धिदर ५.२ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ।

विश्व बैंकले पुनर्निर्माणका क्रममा पुरानै संरचना जस्ताको तस्तै बनाउनुको सट्टा बहुविपद् जोखिमलाई ध्यान दिँदै पूर्वाधारको स्थान, डिजाइन र वैकल्पिक प्रणालीमा सुधार गर्न सुझाव दिएको छ। पूर्वसूचना प्रणाली र विपद्पछि प्रभावित परिवारलाई छिटो सहायता उपलब्ध गराउने सामाजिक संरक्षण प्रणालीलाई पनि बलियो बनाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ।

यसैबीच, विश्व बैंकले सन् २०२६ मा दक्षिण एसियाको आर्थिक वृद्धिदर ६.९ प्रतिशत र सन् २०२७ मा ६.७ प्रतिशत रहने प्रक्षेपण गरेको छ। दक्षिण एसियाको आर्थिक वृद्धिमा आन्तरिक मागसँगै कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगले श्रम उत्पादकत्व, निर्यात र सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउन सक्ने विश्व बैंकको निष्कर्ष छ।

 

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार