ADVERTISEMENT

कांग्रेसमा बढ्यो दरार, महाधिवेशनमै देखियो दुई धार


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। सभापति गगनकुमार थापा नेतृत्वको पक्षले महाधिवेशनको तयारी पूरा गरेको जनाएको छ। तर,पार्टीभित्रको नेतृत्व, वैधानिकता र महाधिवेशन प्रक्रियालाई लिएर पूर्वसभापति शेरबहादुर देउवा पक्षसँगको विवाद समाधान हुन नसक्दा कांग्रेसको आन्तरिक संकट थप जटिल बनेको छ।

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह आज दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुने तय भएको छ। महाधिवेशनको मूल नारा ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ रहेको छ। बन्दसत्र तथा अन्य मुख्य कार्यक्रम सोमबार र मंगलबार हुने कार्यतालिका छ।तर महाधिवेशन सुरु हुँदै गर्दा कांग्रेस भने व्यवहारतः दुई समानान्तर राजनीतिक प्रक्रियामा विभाजित देखिएको छ। विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापा नेतृत्वको पक्षले आफूलाई पार्टीको वैधानिक नेतृत्व दाबी गर्दै १५औँ महाधिवेशन अघि बढाएको छ।

अर्कोतर्फ पूर्वसभापति देउवा पक्षले विशेष महाधिवेशन र त्यसबाट बनेको नेतृत्वलाई स्वीकार नगर्दै छुट्टै संगठनात्मक प्रक्रिया अघि बढाइरहेको छ। देउवाले यसअघि नै थापा नेतृत्वको केन्द्रीय कार्यसमितिले आयोजना गरेको महाधिवेशनमा सहभागी नहुन नेता तथा कार्यकर्तालाई आग्रह गरेका थिए। विशेष महाधिवेशनको वैधतासम्बन्धी विषय अदालतमा विचाराधीन रहेको अवस्थामा त्यसको अन्तिम निरूपण नहुँदै महाधिवेशन प्रक्रिया अघि बढाउनु विधि, विधान र कानुनी सिद्धान्तविपरीत हुने उनको दाबी छ।

थापा पक्षले भने विशेष महाधिवेशनअघि कायम रहेको केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई वर्तमान केन्द्रीय समितिमा समेटिएको भन्दै महाधिवेशन प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ। सभापति थापाले तत्कालीन पदाधिकारी तथा सदस्यहरू वर्तमान केन्द्रीय कार्यसमितिको सदस्यका रूपमा सुनिश्चित भइसकेको दाबी गर्दै निर्धारित अधिवेशनमा सहभागी हुन आह्वान गरेका छन्।

देउवा पक्षको छुट्टै तयारी

गगन थापा नेतृत्वको पक्षले १५औँ महाधिवेशन आयोजना गरिरहँदा देउवा पक्षले पनि समानान्तर महाधिवेशनको तयारी अघि बढाएको छ। देउवा पक्षले आफ्नै संगठनात्मक प्रक्रिया वडा तहबाट अघि बढाउँदै आगामी मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। सले कांग्रेसको विवाद केवल नेतृत्व परिवर्तनको विषयमा सीमित नरही पार्टीको आधिकारिक नेतृत्व, संगठनात्मक संरचना र आगामी राजनीतिक दिशासँग जोडिएको विवादका रूपमा विकास भएको देखिएको छ।

दुवै पक्षले आफूलाई कांग्रेसको वैधानिक धारका रूपमा प्रस्तुत गर्दै आफ्नै ढंगले संगठन विस्तार र महाधिवेशन प्रक्रिया अघि बढाइरहेका छन्।यद्यपि देउवा पक्षमा रहेका सबै नेता भने समानान्तर प्रक्रियामा कायम छैनन्। पछिल्लो समय देउवा निकट रहेका केही नेताहरू गगन थापा नेतृत्वको महाधिवेशन प्रक्रियामा सहभागी भएका छन्। हालै देउवा पक्षका केही प्रभावशाली नेताहरू थापा नेतृत्वको पक्षमा खुलेर सहभागी भएको सार्वजनिक भएको छ।गत विशेष महाधिवेशनका बेला देउवा नेतृत्वको तत्कालीन १६७ सदस्यीय केन्द्रीय समितिबाट सीमित नेता मात्र सहभागी भएका थिए। त्यसपछि पछिल्ला महिनामा ठूलो संख्यामा नेताहरू थापा नेतृत्वको संरचनामा समाहित भएका छन्। यसले देउवा पक्षको संगठनात्मक समीकरणमा समेत परिवर्तन आएको देखाएको छ।

खड्का पक्ष महाधिवेशनमा, शेखर तटस्थ

कांग्रेसको आन्तरिक समीकरणमा पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहको भूमिका पनि महत्वपूर्ण देखिएको छ। देउवा पक्षसँग निकट रहेको खड्का समूहका धेरै नेता भने गगन थापा नेतृत्वको महाधिवेशन प्रक्रियामा सहभागी हुने निर्णयमा पुगेका छन्। विशेष महाधिवेशनबाहिर रहेका पदाधिकारी तथा सदस्यको समायोजनलगायतका माग सम्बोधन गर्ने प्रतिबद्धता आएपछि खड्का पक्षका नेताहरू महाधिवेशनमा जाने निष्कर्षमा पुगेका थिए।

अर्कोतर्फ नेता शेखर कोइरालाले तत्काल कुनै पक्षमा खुलेर नलागी तटस्थ रहने निर्णय गरेका थिए। उनले पार्टीभित्र एकताको पहल आवश्यक रहेको बताउँदै आफू तत्काल कुनै पनि पक्षको महाधिवेशन प्रक्रियामा प्रत्यक्ष रूपमा नजोडिने संकेत गरेका छन्। यद्यपि उनको समूहका केही नेताहरू भने थापा नेतृत्वको महाधिवेशनमा सहभागी  छन्। यसले कांग्रेसभित्र अहिले मुख्यतः थापा नेतृत्वको संस्थापन, देउवा पक्ष र तेस्रो धारका रूपमा देखिएको कोइराला समूहबीच फरक–फरक रणनीति देखिएको छ। पछिल्लो समय भने विभिन्न नेताहरूको स्थान परिवर्तनका कारण पुराना गुटीय समीकरणसमेत फेरबदल भइरहेको छ।

विवादको जड कहाँ ?

कांग्रेसभित्रको पछिल्लो विवादको मुख्य पृष्ठभूमिमा गत पुसमा सम्पन्न विशेष महाधिवेशन रहेको छ। विशेष महाधिवेशनले गगन थापालाई सभापतिमा चयन गरेपछि देउवा पक्षले त्यसलाई स्वीकार गरेन। त्यसपछि पार्टीको आधिकारिक नेतृत्व र निर्वाचन आयोगमा प्रतिनिधित्वसम्बन्धी विषयमा समेत विवाद उत्पन्न भएको थियो।विशेष महाधिवेशनलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष अदालत पुगेको थियो।

अदालतबाट आयोगको निर्णय सदर भएपछि पनि विवाद पूर्णरूपमा समाधान हुन सकेन। पछिल्लो समय सर्वोच्च अदालतमा पुनरावलोकनको विषयसमेत जोडिएको छ। यही कानुनी विवादलाई देउवा पक्षले १५औँ महाधिवेशनको प्रक्रियामाथि प्रश्न उठाउने आधार बनाएको छ।थापा पक्ष भने कानुनी र संगठनात्मक रूपमा महाधिवेशन अघि बढाउने निर्णयमा अडिग छ। यही कारण एक पक्षले महाधिवेशनलाई निरन्तरता दिइरहेको छ भने अर्को पक्षले समानान्तर संगठनात्मक गतिविधि अघि बढाइरहेको अवस्था छ।

नेतृत्व चयनसँगै वैधानिकताको प्रश्न

यसपटकको कांग्रेस महाधिवेशन केवल नयाँ सभापति र पदाधिकारी चयन गर्ने नियमित प्रक्रिया मात्र नभई पार्टीको वैधानिक नेतृत्व कसले सम्हाल्ने भन्ने प्रश्नसँग पनि जोडिएको छ।

सामान्य अवस्थामा महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि पार्टीभित्रको नेतृत्व विवाद समाधान हुने अपेक्षा गरिन्छ। तर कांग्रेसको वर्तमान परिस्थितिमा एउटा पक्षले अर्को पक्षबाट आयोजना गरिएको महाधिवेशनलाई नै स्वीकार नगरेका कारण नयाँ नेतृत्व चयन भए पनि त्यसको राजनीतिक र संगठनात्मक स्वीकार्यताको प्रश्न उठ्ने अवस्था छ।

विशेष गरी देउवा पक्षले समानान्तर रूपमा आफ्नै महाधिवेशन अघि बढाउने तयारी गरेपछि कांग्रेसको संगठनात्मक एकता कस्तो रहने भन्ने प्रश्न थप पेचिलो बनेको छ। देउवा पक्षले आफ्नो नियमित महाधिवेशनको प्रक्रियालाई निरन्तरता दिने बताइरहेको छ भने थापा पक्षले आजदेखि सुरु हुने महाधिवेशनबाट नयाँ केन्द्रीय नेतृत्व चयन गर्ने तयारी गरेको छ।

खुलामञ्चमा शक्ति प्रदर्शन

आज खुलामञ्चमा हुने उद्घाटन समारोह कांग्रेसभित्रको शक्ति समीकरण देखाउने महत्वपूर्ण अवसरका रूपमा समेत रहनेछ। विभिन्न जिल्ला र तहबाट निर्वाचित प्रतिनिधिहरू काठमाडौंमा भेला भएका छन्। महाधिवेशन प्रतिनिधिको उपस्थितिले थापा नेतृत्वको पक्षको संगठनात्मक आधार कति व्यापक छ भन्ने देखाउनेछ।

तर महाधिवेशनमा प्रतिनिधित्वकै विषयमा कतिपय स्थानमा विवाद र प्रतिस्पर्धा देखिएको  सार्वजनिक भएका छन्। क्षेत्रीय अधिवेशनका क्रममा कतिपय स्थानमा विवाद, मतभेद र प्रतिस्पर्धा चर्किएको उल्लेख गरिएको छ।

यसबीच देउवा पक्षमा रहेका कतिपय नेताहरू थापा पक्षमा समाहित हुनु र केही नेताहरू समानान्तर प्रक्रियामा कायम रहनुले कांग्रेसभित्रको शक्ति समीकरण अझै तरल रहेको देखाउँछ। पछिल्लो समय गगन थापा पक्षमा विभिन्न नेताहरू थपिँदै गएको  सार्वजनिक भएको छ।

कांग्रेसको आगामी दिशा के ?

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै कांग्रेसको आगामी राजनीतिक दिशा पनि तय गर्ने अपेक्षा गरिएको छ। नेतृत्व परिवर्तनसँगै पार्टीको संगठन सञ्चालन, आन्तरिक लोकतन्त्र, निर्वाचन रणनीति, सरकार तथा अन्य राजनीतिक दलसँगको सम्बन्ध र आगामी राजनीतिक एजेन्डाबारे पनि महाधिवेशनमा बहस हुने सम्भावना छ।

तर सबैभन्दा ठूलो चुनौती भनेको महाधिवेशनपछि पार्टीलाई एउटै संगठनात्मक संरचनामा ल्याउनु हुनेछ। यदि समानान्तर गतिविधि कायम रहे कांग्रेसको केन्द्रीय नेतृत्व चयन भए पनि पार्टीभित्रको विवाद तत्काल समाप्त नहुन सक्छ।

कांग्रेसको लामो राजनीतिक इतिहासमा आन्तरिक मतभेद र गुटीय प्रतिस्पर्धा नयाँ विषय होइन। इतिहासमा पार्टीभित्र विभिन्न समयमा विभाजन, पुनर्मिलन र नेतृत्व परिवर्तनका चरणहरू आएका छन्। पछिल्लो विवाद पनि नेतृत्व हस्तान्तरण, संगठनात्मक अधिकार र वैधानिकताको प्रश्नसँग जोडिएको देखिन्छ। आजदेखि सुरु हुने १५औँ महाधिवेशनले त्यसैले कांग्रेसका लागि नयाँ नेतृत्व चयन गर्ने अवसरसँगै विभाजित संगठनलाई कुन दिशामा लैजाने भन्ने चुनौती पनि बोकेको छ। एकातर्फ थापा नेतृत्वको पक्ष महाधिवेशनलाई निर्धारित प्रक्रियाअनुसार सम्पन्न गर्ने तयारीमा छ भने अर्कोतर्फ देउवा पक्ष आफ्नो समानान्तर प्रक्रिया अघि बढाइरहेको छ।

यसरी कांग्रेसको १५औँ महाधिवेशन नेतृत्व चयनको नियमित कार्यक्रमभन्दा माथि उठेर पार्टीको वैधानिकता, संगठनात्मक एकता, नेतृत्व हस्तान्तरण र आगामी राजनीतिक दिशाको परीक्षण बन्न पुगेको छ। महाधिवेशनबाट आउने नेतृत्वले आन्तरिक विवाद समाधानका लागि कस्तो पहल गर्छ र समानान्तर रूपमा अघि बढिरहेका पक्षलाई एउटै संगठनात्मक संरचनामा कसरी समेट्छ भन्ने विषय अब कांग्रेसको आगामी यात्राका लागि निर्णायक रहनेछ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार