काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । तर, पार्टीभित्रको विवाद समाधान हुन नसक्दा पूर्वसभापति शेरबहादुर देउवा पक्ष भने महाधिवेशनमा सहभागी नहुने भएको छ ।
गगनकुमार थापा नेतृत्वको कांग्रेसले महाधिवेशन आयोजना गरिरहँदा देउवा पक्षले छुट्टै महाधिवेशनको तयारी अघि बढाएपछि कांग्रेसको आन्तरिक विवाद थप उत्कर्षमा पुगेको हो । यसले १५औँ महाधिवेशनलाई नेतृत्व चयनसँगै पार्टीको वैधानिकता, एकता र आगामी राजनीतिक दिशाको शक्ति–परीक्षणका रूपमा समेत हेर्न थालिएको छ ।
कांग्रेसको १५औँ महाधिवेशन ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित सुरु हुँदैछ ।
महाधिवेशनको उद्घाटन समारोह आज दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुनेछ । सोमबार र मंगलबार अर्थात् १९ र २० असोजमा बन्दसत्र तथा अन्य कार्यक्रम सञ्चालन हुनेछन् । निर्वाचन कार्यक्रम भने २१ र २२ असोजका लागि तय गरिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता शुक्रबार र शनिबार सम्पन्न भएको छ । प्रतिनिधि दर्ताका लागि ३ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
दर्ता भएका प्रतिनिधिलाई पार्टीले झोलासहित विधान, डायरी, डटपेन, प्रतिनिधि परिचयपत्र तथा खाना–खाजा र नास्ताका लागि कुपन उपलब्ध गराएको छ ।
७ हजार ५ सयभन्दा बढी प्रतिनिधि
कांग्रेसका अनुसार यसपटकको महाधिवेशनमा ७ हजार ५ सयभन्दा बढी महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन् । प्रवक्ता चालिसेले यो संख्या कांग्रेसको इतिहासमै सबैभन्दा ठूलो भएको दाबी गरेका छन् ।
शनिबार खुलामञ्चमा आयोजित पत्रकार सम्मेलनमा उनले यसपटकको महाधिवेशनलाई केवल नेता छान्ने अधिवेशनका रूपमा सीमित नगरी ‘नीति चयनको अधिवेशन’ बनाउने प्रयास गरिने बताए ।
महाधिवेशनबाट कांग्रेसले आगामी पाँच वर्षका लागि पार्टीको राजनीतिक, आर्थिक, उत्पादन, रोजगारी तथा विदेश नीतिसम्बन्धी दृष्टिकोण तय गर्ने तयारी गरेको छ ।
गगनले पेस गर्नेछन् पाँचवर्षे राजनीतिक दृष्टिकोण
महाधिवेशनको बन्दसत्रमा पार्टीको आगामी नीति, कार्यक्रम तथा विभिन्न समसामयिक प्रतिवेदन पेस हुनेछन् ।
सभापति गगनकुमार थापाले आगामी पाँच वर्षका लागि पार्टीको राजनीतिक, आर्थिक, उत्पादन, रोजगारी र विदेश नीतिसहितका विषय समेटिएको कार्यपत्र पेस गर्ने प्रवक्ता चालिसेले जानकारी दिए ।
यसकारण पनि कांग्रेसको १५औँ महाधिवेशन नेतृत्व परिवर्तन मात्र नभई पार्टीको आगामी राजनीतिक बाटो र नीतिगत प्राथमिकता निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।
रास्वपासहित दल र विदेशी पाहुनालाई निम्तो
महाधिवेशनको उद्घाटन समारोहमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), प्रमुख प्रतिपक्षी नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टीलगायत विभिन्न राजनीतिक दललाई आमन्त्रण गरिएको कांग्रेसले जनाएको छ ।
छिमेकी मुलुक भारत र चीनसहित अमेरिका तथा अन्य आधा दर्जनभन्दा बढी मुलुकबाट समेत पाहुनालाई निम्तो दिइएको छ । तर, उद्घाटन समारोहको मिति परिवर्तन भएकाले विदेशी पाहुनाको उपस्थिति अपेक्षाकृत कम हुन सक्ने कांग्रेसको भनाइ छ ।
१० हजार प्रतिनिधि तथा शुभेच्छुकका लागि होटल बुकिङ
महाधिवेशनमा सहभागी प्रतिनिधि तथा शुभेच्छुकको आवासका लागि काठमाडौंका विभिन्न क्षेत्रका होटल बुकिङ गरिएको छ ।
गौशाला, कोटेश्वर, लाजिम्पाट, ठमेल, नयाँ बसपार्क, सुन्धारा, बालाजु र कलङ्की क्षेत्रमा करिब १० हजार प्रतिनिधि तथा शुभेच्छुक बस्न मिल्ने गरी होटल व्यवस्थापन गरिएको कांग्रेसले जनाएको छ ।
प्रदेशअनुसार आवास व्यवस्थापन गरिएको छ । कोशी र मधेश प्रदेशका प्रतिनिधिका लागि गौशाला र कोटेश्वर, बागमतीका लागि लाजिम्पाट र ठमेल, गण्डकी तथा लुम्बिनीका लागि बालाजु र नयाँ बसपार्क तथा कर्णाली र सुदूरपश्चिमका प्रतिनिधिका लागि सुन्धारा र कलङ्की क्षेत्रमा आवासको व्यवस्था गरिएको छ ।
विदेशस्थित जनसम्पर्क समितिबाट आउने प्रतिनिधिका लागि लाजिम्पाट र ठमेल क्षेत्रमा व्यवस्था गरिएको छ ।
जिल्ला, जनसम्पर्क समिति तथा भ्रातृ संस्थाबाट आउने महाधिवेशन प्रतिनिधिले होटल र आवास खर्च भने आफैँ बेहोर्नुपर्ने कांग्रेसले जनाएको छ । विदेशबाट आउने पाहुनाको आवास खर्च पार्टीले बेहोर्नेछ ।
प्रतिनिधिका लागि महाधिवेशन अवधिभर बिहान र दिउँसोको खाना भृकुटीमण्डपमा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
३० स्वास्थ्यकर्मीसहित हेल्थ डेस्क
महाधिवेशनमा सहभागी प्रतिनिधिको स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क सञ्चालनमा ल्याइँदैछ ।
खुलामञ्चको पश्चिमतर्फ पाँचवटा स्टलसहितको हेल्थ डेस्क रहनेछ । त्यहाँ सामान्य स्वास्थ्य परीक्षण तथा आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराइनेछ ।
स्वास्थ्य समितिका संयोजक डा. केदारनरसिंह केसीका अनुसार हेल्थ डेस्क दुई सिफ्टमा सञ्चालन हुनेछ । डेस्कमा चिकित्सक, पारामेडिक्स तथा नर्सहरू रहनेछन् ।
रक्तचाप र सुगर परीक्षणसँगै सिटामोल, जीवनजल तथा सामान्य घाउचोटका औषधि निःशुल्क उपलब्ध गराइनेछ ।
गम्भीर स्वास्थ्य समस्या देखिए वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर तथा बीपी स्मृति अस्पतालमा तत्काल लैजाने व्यवस्था मिलाइएको छ । त्यसका लागि महाधिवेशन स्थलमा दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखिनेछन् ।
रातिको समयमा समेत आवश्यक परे ‘अन कल’ स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ । होटलमा रहेका प्रतिनिधिलाई स्वास्थ्य समस्या परे होटलमै पुगेर स्वास्थ्य परीक्षण गर्ने व्यवस्था समेत गरिएको कांग्रेसले जनाएको छ ।
धरहरादेखि दरबारमार्गसम्म पार्किङ व्यवस्थापन
महाधिवेशनमा आउने प्रतिनिधिका सवारीसाधन व्यवस्थापनका लागि काठमाडौंका विभिन्न स्थानमा पार्किङको व्यवस्था गरिएको छ ।
महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक विजयबहादुर स्वाँरका अनुसार धरहराको अन्डरग्राउन्ड, माइतीघरदेखि भद्रकालीसम्मको वान–वे सडकको एकतर्फी भाग तथा दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा पार्किङको व्यवस्था मिलाइएको छ ।
पुरानो बसपार्क आसपास र भृकुटीमण्डपभित्र समेत थप सवारी पार्किङको व्यवस्थाका लागि ट्राफिक प्रहरीसँग समन्वय भइरहेको कांग्रेसले जनाएको छ ।
तर, यी सबै व्यवस्थापकीय तयारीभन्दा १५औँ महाधिवेशनको सबैभन्दा ठूलो प्रश्न भने कांग्रेसभित्रको विवाद नै बनेको छ । एउटा पक्ष महाधिवेशनमार्फत नयाँ नेतृत्व र नीति अघि बढाउने तयारीमा रहँदा पूर्वसभापति देउवा पक्ष त्यसमा सहभागी नहुने र छुट्टै महाधिवेशनको तयारीमा जुटेपछि कांग्रेसको आन्तरिक राजनीतिक संकट अब महाधिवेशनस्थलमै निर्णायक मोडमा पुग्ने देखिएको छ ।




प्रतिक्रिया