मुक्तिनाथ । अविरल वर्षासँगै आएको बाढीपहिरो र नदी कटानका कारण कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकसँगै विद्युत र सञ्चार सेवा अवरुद्ध भएपछि उपल्लो मुस्ताङको नेचुङ भन्सार कार्यालयको जाँचपास सेवा ठप्प भएको छ।
विद्युत र सञ्चार सेवा अवरुद्ध हुँदा भन्सार जाँचपास, राजस्व भुक्तानी तथा क्वारेन्टाइनका काम प्रभावित भएका छन्। कार्यालय प्रमुख विदुर चुडालका अनुसार जाँचपास रोकिँदा राजस्व संकलनमा समेत प्रत्यक्ष असर परेको छ।
चीनको तिब्बतबाट विद्युतीय सवारीसाधन तथा अन्य सामान बोकेर आएका कन्टेनर असोज ८ गतेदेखि भन्सार कार्यालय र सडक खण्डमा रोकिएका छन्। रसुवागढी नाका अवरुद्ध भएपछि कोरला नाकामा आयातको चाप थप बढेको जनाइएको छ।
बाढीपहिरोका कारण इन्टरनेट र विद्युत सेवामा क्षति पुगेपछि दैनिक रु. २० करोडभन्दा बढी राजस्व संकलन हुने कोरला नाका प्रभावित भएको छ। सडक सहज नहुँदा मुस्ताङ प्रवेश तथा बाहिरिने कन्टेनरहरू विभिन्न स्थानमा अलपत्र परेका छन्।
कालीगण्डकी करिडोरको मालढुंगा–बेनी–जोमसोम–कोरला सडक खण्डका विभिन्न ४६ स्थानमा बाढीपहिरो गएको छ। बेनी–जोमसोम सडक खण्डको म्याग्दी क्षेत्रमा पक्की पुल तथा सडकसमेत बगाएको र मर्मतमा एक साताभन्दा बढी समय लाग्न सक्ने अनुमान गरिएको छ।
चाडपर्वका लागि चीनबाट आयात गरिएका सामान सडक तथा भन्सारमै रोकिँदा व्यवसायीसमेत प्रभावित भएका छन्।



प्रतिक्रिया