काठमाडौं । सन् २०२६ को सेप्टेम्बरमा ८८ हजार २४८ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार यो सङ्ख्या गत वर्षको सोही महिनाको तुलनामा १२.१२ प्रतिशतले बढी हो। सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार ७११ जना पर्यटक नेपाल आएका थिए।
सेप्टेम्बरमा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन्। भारतबाट १७ हजार ४२५ जना पर्यटक नेपाल आएका छन् भने चीनबाट ११ हजार २१२ जना आएका छन्। चीनबाट हुने पर्यटक आगमन गत वर्षको तुलनामा दोब्बरभन्दा बढी भएको छ।
त्यस्तै, अमेरिकाबाट ८ हजार २९९, श्रीलङ्काबाट ७ हजार १०८ र अस्ट्रेलियाबाट ४ हजार ८४२ जना पर्यटक नेपाल आएका छन्। बंगलादेशबाट ३ हजार ९६४ र बेलायतबाट ३ हजार ७२५ जना पर्यटक आएका छन्।
क्षेत्रगत रूपमा सार्क मुलुकबाट सबैभन्दा धेरै ३० हजार ८५ जना पर्यटक आएका छन्, जुन गत वर्षको तुलनामा २३.८८ प्रतिशतले बढी हो। अन्य एसियाली मुलुकबाट आउने पर्यटकको सङ्ख्या पनि ५७.९७ प्रतिशतले बढेर १९ हजार ८८८ पुगेको छ।
यता, युरोप, अमेरिका र ओसियाना क्षेत्रबाट आउने पर्यटकको सङ्ख्यामा भने कमी आएको छ। युरोपबाट १५ हजार १४८, अमेरिका क्षेत्रबाट १० हजार १०७ र ओसियानाबाट ५ हजार ४२२ जना पर्यटक नेपाल आएका छन्।



प्रतिक्रिया