ADVERTISEMENT

चक्कु प्रहारपछि ककपिट खोलेर पाइलटले बचाए १७४ यात्रुको ज्यान


काठमाडौं । फ्लाईदुबईको उडान एफजेड१०७३मा चक्कु प्रहारबाट गम्भीर घाइते भएका भारतीय क्याप्टेन स्मित मच्छरले बेहोस हुनुअघि ककपिटको ढोका खोलेर यात्रु र चालक दललाई विमान बचाउन सहयोग गर्ने अवसर दिएको बताइएको छ।

इजरायली यात्रु यानिभ हयुनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको कुराकानीमा क्याप्टेन मच्छरले सुझबुझ देखाउँदै ककपिटको ढोका खोलेपछि बेहोस भएको बताएका छन्। नेतान्याहुले पनि सामाजिक सञ्जालमार्फत मच्छरको बहादुरीको प्रशंसा गर्दै उनको निर्णयले १७४ जनाको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन्।

चक्कु प्रहारपछि घाइते मच्छरलाई यात्रुहरूले विमानमै प्राथमिक उपचार दिएका थिए। विमानलाई साउदी अरबको तबुक विमानस्थलमा आपत्कालीन अवतरण गराएपछि उनलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ। भारतीय दूतावासका अनुसार उनको अवस्था स्थिर रहेको छ।

मच्छर फ्लाईदुबईमा आबद्ध हुनुअघि स्पाइसजेटमा एक दशकभन्दा बढी समय काम गरेका अनुभवी पाइलट हुन्। उनले ट्रेनिङ क्याप्टेन तथा नयाँ पाइलटका मेन्टरका रूपमा समेत काम गरेका थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि घटनाबारे बोल्दै मच्छरलाई ‘हिरो’ बताएका छन्। ट्रम्पका अनुसार घाइते पाइलटले ककपिटको ढोका खोल्न र सहयोगका लागि गुहार गर्न सफल भएपछि यात्रुहरूले आक्रमणकारीलाई नियन्त्रणमा लिन सकेका थिए।

तर ट्रम्पले आफूले प्राप्त जानकारी मात्र सार्वजनिक गरेको र घटनाका सबै विवरण स्वतन्त्र रूपमा पुष्टि नभएको स्पष्ट पारेका छन्।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार