काठमाडौं । लगातार तीन कारोबार दिनको गिरावटपछि बिहीबार नेप्से परिसूचक झिनो अंकले बढेको छ। नेप्से ०.२६ अंकले बढेर २,५९९.१५ विन्दुमा पुगे पनि बजारले २६ सयको मनोवैज्ञानिक विन्दु पार गर्न सकेन।
बिहीबार ३५३ कम्पनीका १ करोड २० लाख ६५ हजार कित्ता सेयर ५१ हजार ७४५ पटक कारोबार हुँदा ४ अर्ब ८९ करोड १८ लाख ७६ हजार रुपैयाँको कारोबार भएको छ। यो अघिल्लो दिनको ४ अर्ब ७६ करोड रुपैयाँको तुलनामा बढी हो।
कारोबार भएका कम्पनीमध्ये सिन्धु विकास बैंकको सेयरमूल्य सर्वाधिक १०.८१ प्रतिशत बढेको छ। कर्पोरेट डेभलपमेन्ट बैंक करिब ९.५ प्रतिशत र इमर्जिङ नेपाल हाइड्रोपावर ७.५ प्रतिशतभन्दा बढी बढेका छन्। यता सयपत्री हाइड्रोपावरको सेयरमूल्य ९.६६ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा सिद्धार्थ बैंक अगाडि रह्यो। बैंकको ३० करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, अपि पावरको करिब २३ करोड र हाथवे इन्भेस्टमेन्ट नेपालको करिब २२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
१३ उपसमूहमध्ये चारवटाको सूचक बढ्दा आठवटाको घटेको छ भने लगानी उपसमूह स्थिर रह्यो। बैंकिङ, विकास बैंक, वित्त र जलविद्युत उपसमूह बढेका छन् भने व्यापार उपसमूह सर्वाधिक १.०५ प्रतिशत घटेको छ।
लगातार तीन दिनमा ३०.९१ अंक घटेको बजार बिहीबार सामान्य बढे पनि २६ सय विन्दुमाथि उक्लिन सकेन। यद्यपि कारोबार रकममा आएको वृद्धिले बजार गतिविधि भने केही बढेको देखिएको छ।



प्रतिक्रिया