ADVERTISEMENT

बाढीपहिरो पीडितका लागि विशेष राहत प्याकेज माग


काठमाडौं । राष्ट्रियसभाका सांसदहरूले देशका विभिन्न जिल्लामा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउँदै पीडितका लागि तत्काल विशेष राहत तथा पुनःस्थापना प्याकेज घोषणा गर्न माग गरेका छन्।

बिहीबार राष्ट्रियसभाको विशेष समयमा बोल्दै सांसदहरूले उद्धार र राहतमा मात्र सीमित नभई प्रभावित नागरिकको सुरक्षित आवास, जीविकोपार्जन तथा सडक, पुल, विद्युत् र सञ्चारजस्ता पूर्वाधार पुनःस्थापनालाई प्राथमिकता दिन सरकारसँग आग्रह गरे।

नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले संघ, प्रदेश र स्थानीय तहका संयन्त्रलाई एकीकृत आपत्कालीन संयन्त्रमार्फत परिचालन गर्नुपर्ने बताए। उनले मृतकका परिवार, घाइते, विस्थापित तथा घरबारविहीन नागरिकका लागि विशेष राहत तथा पुनःस्थापना प्याकेज आवश्यक रहेको बताए।

नेकपाका सांसद सुरेशकुमार आले मगरले मनाङ, म्याग्दी, पर्वत, बागलुङ, पाल्पालगायत जिल्लामा बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद् व्यवस्थापनमा आदिवासी जनजातिको परम्परागत ज्ञान र सीपको उपयोग गर्नुपर्ने बताए।

एमालेकी सांसद रामकुमारी झाँक्रीले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत र पुनर्निर्माणलाई प्रभावकारी बनाउन माग गरिन्। उनले बेपत्ता नागरिकको खोजी, शव परीक्षण तथा परिवारलाई शव बुझाउने प्रक्रिया र पीडित परिवारलाई आर्थिक तथा कानुनी सहयोगलाई प्राथमिकता दिनुपर्ने बताइन्।

सांसदहरूले नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राख्दै क्षतिग्रस्त सडक तथा राजमार्ग तत्काल मर्मत गर्न र बजार अनुगमन तीव्र बनाउनसमेत सरकारको ध्यानाकर्षण गराएका छन्। संघीय संसद्को चालु अधिवेशन भने असोज १६ गते शुक्रबार राति १२ बजेदेखि अन्त्य हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार