काठमाडौं । नेपाल राष्ट्र बैंकको आग्रहपछि बैंक तथा वित्तीय संस्थाहरूले एटीएमबाट १०० रुपैयाँ दरका नोट वितरण गर्न थालेका छन्।
आसन्न बडादसैंलगायतका चाडपर्वलाई लक्षित गर्दै सर्वसाधारण तथा विद्यार्थीको सहजताका लागि केही एटीएम मेसिनमा १०० रुपैयाँका नोट राख्न थालिएको हो। हाल काठमाडौं उपत्यकाका सिंहदरबार, न्युरोडलगायत केही स्थानका एटीएमबाट १०० रुपैयाँका नोट निकाल्न सकिने व्यवस्था गरिएको छ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा मुद्रा व्यवस्थापन विभागका प्रमुख अनुज दाहालका अनुसार बैंकहरूले आफ्ना कुल एटीएममध्ये १५ देखि २५ प्रतिशत मेसिनमा १०० रुपैयाँका नोट राख्न सकिने जानकारी दिएका छन्।
पुराना एटीएममा दुईवटा मात्रै क्यासेट हुने भएकाले १ हजार र ५०० रुपैयाँका नोटसँगै १०० रुपैयाँको नोट राख्न प्राविधिक कठिनाइ छ। तर, नयाँ प्रविधिका एटीएममा तीनदेखि चारवटासम्म क्यासेट हुने भएकाले थप क्यासेट प्रयोग गरी १०० रुपैयाँका नोट वितरण गर्न थालिएको हो।
राष्ट्र बैंकले चाडपर्वका बेला साना दरका नोट साट्न बैंकमा हुने भीड कम गर्न एटीएमबाटै १०० रुपैयाँका नोट उपलब्ध गराउन बैंकर्स संघलाई आग्रह गरेको थियो। नयाँ प्रविधिका करिब २५ प्रतिशत एटीएमबाट तत्कालै यस्तो सुविधा उपलब्ध गराउन सकिने बैंकरहरूले बताएका छन्।
यस व्यवस्थाबाट थोरै रकम आवश्यक पर्ने विद्यार्थी, न्यून आय भएका नागरिक तथा खुद्रा रकम चाहिने सर्वसाधारणलाई सहज हुने अपेक्षा गरिएको छ।



प्रतिक्रिया