काठमाडौं । आईपीओ निष्कासनको तयारीमा रहेको लक्ष्मी स्टिल्स लिमिटेडले सन् २०२६ मा १० अर्ब ९६ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो वर्षको तुलनामा १ अर्ब १६ करोड ७० लाख रुपैयाँ बढी हो।
कम्पनीले सन् २०२५ मा ९ अर्ब ८० करोड १० लाख रुपैयाँ र सन् २०२४ मा ८ अर्ब ५ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो। बिक्री परिमाण वृद्धि र बजार माग बलियो रहेकाले आम्दानी बढेको कम्पनीको रेटिङ प्रतिवेदनमा उल्लेख छ।
आम्दानी बढे पनि कम्पनीको ईबीआईटीडीए मार्जिन भने सन् २०२६ मा ६.०२ प्रतिशतमा झरेको छ। सन् २०२५ मा यस्तो मार्जिन ६.५८ प्रतिशत थियो। ब्याज खर्च घटेका कारण भने कम्पनीको खुद नाफा मार्जिन ३.७८ प्रतिशत कायम भएको छ।
कम्पनीको वित्तीय संरचनामा समेत सुधार देखिएको छ। सन् २०२४ को मध्यमा ०.७७ गुणा रहेको गेयरिङ अनुपात २०२५ मा ०.३४ गुणामा झरेको थियो भने २०२६ मा ०.४३ गुणा पुगेको छ। ब्याज कभरेज अनुपात ९.२५ गुणा र ऋण सेवा कभरेज अनुपात ८.०१ गुणा पुगेको छ।
लक्ष्मी स्टिल्सले नवलपरासीको सुनवलमा वार्षिक १ लाख ५० हजार मेट्रिक टन टीएमटी छड र १ लाख ८० हजार मेट्रिक टन बिलेट उत्पादन क्षमता रहेको प्लान्ट सञ्चालन गर्दै आएको छ। बिलेट उत्पादनमा गरिएको ब्याकवर्ड इन्टिग्रेसनले कच्चा पदार्थको उपलब्धता तथा लागत व्यवस्थापनमा सहयोग गरेको छ।
यद्यपि, कम्पनीको व्यवसाय वर्किङ क्यापिटलमा बढी निर्भर रहेको, टीएमटी छडमा आम्दानीको उच्च केन्द्रीकरण रहेको तथा अमेरिकी डलरमा कच्चा पदार्थ आयात गर्दा विदेशी विनिमय जोखिम रहेको रेटिङ प्रतिवेदनले औंल्याएको छ।
यसैबीच, इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले लक्ष्मी स्टिल्सको दीर्घकालीन रेटिङ ‘आईआरएन बीबीबी’ बाट ‘आईआरएन बीबीबी प्लस’ मा स्तरोन्नति गरेको छ। त्यस्तै, ३ अर्ब ७७ करोड रुपैयाँको अल्पकालीन बैंकिङ सुविधाको रेटिङ ‘आईआरएन ए३ प्लस’ बाट ‘आईआरएन ए२’ मा बढाइएको छ।
कम्पनी सौरभ ग्रुपको हिस्सा हो। सन् २००८ मा प्राइभेट लिमिटेडका रूपमा स्थापना भएको लक्ष्मी स्टिल्स सन् २०२२ मा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको थियो। कम्पनीले आगामी दिनमा आम्दानी वृद्धि, सञ्चालन मार्जिन, वर्किङ क्यापिटल व्यवस्थापन र प्रस्तावित आईपीओ सफलतापूर्वक सम्पन्न गर्ने विषयलाई प्राथमिकतामा राखेको छ।



प्रतिक्रिया