काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बुद्धिप्रसाद पन्तले सञ्चार क्षेत्रका समस्या समाधान गर्न नेपाल पत्रकार महासंघलगायत सञ्चारसम्बद्ध संस्थासँग तत्काल संवाद गर्न सरकारसँग आग्रह गरेका छन्।
बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद पन्तले पत्रकारहरू आफ्ना पेसागत हकहित र माग लिएर सडकमा उत्रिनुपर्ने अवस्था दुःखद् भएको बताए।
उनले स्वरोजगारमूलक तथा साना लगानीका सञ्चारमाध्यमलाई दिइँदै आएको लोककल्याणकारी विज्ञापनमा कटौती गरिएको तथा राष्ट्रिय समाचार समितिले अन्य सञ्चारमाध्यमलाई उपलब्ध गराउँदै आएको समाचारको शुल्कमा अस्वाभाविक वृद्धि गरिएको विषयमा सरकारको ध्यानाकर्षण गराए।
सरकारी विज्ञापन वितरणमा निजी सञ्चारमाध्यम तथा सामुदायिक रेडियोलाई न्यायोचित रूपमा समावेश नगरिएको भन्दै उनले यसले समग्र सञ्चार क्षेत्रलाई असर पारेको बताए।
सञ्चारसम्बन्धी नीति तथा निर्णयले स्वतन्त्र सञ्चारमाध्यमलाई थप संकटमा पारिरहेको भन्दै पन्तले नेपाल पत्रकार महासंघलगायत सम्बन्धित संस्थासँग अविलम्ब संवाद गरी जायज माग सम्बोधन गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।

प्रतिक्रिया