जनप्रशासन केन्द्रीय विभागले थाल्यो ‘पब्लिक पोलिसी म्यानेजमेन्ट एन्ड गभर्नेन्स’को नयाँ अध्याय

नयाँ पाठ्यक्रम डिन कार्यालयमा पेश गर्ने निर्णय, सार्वजनिक नीति र सुशासनमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य; पूर्व तथा वर्तमान विश्वविद्यालय नेतृत्वदेखि विज्ञसम्मको योगदान


काठमाडौं । जनप्रशासन केन्द्रीय विभागले सार्वजनिक नीति, व्यवस्थापन र शासन प्रणालीसँग सम्बन्धित नयाँ तथा व्यवहारिक पाठ्यक्रम निर्माण गर्दै प्राज्ञिक क्षेत्रमा नयाँ अध्यायको सुरुवात गरेको छ।

विभागले ‘Master of Public Policy Management and Governance (MPPMG)’ सम्बन्धी पाठ्यक्रम निर्माण गरी त्यसलाई कार्यान्वयनको चरणमा लैजाने तयारी गरेको हो। निर्माण गरिएको पाठ्यक्रमलाई आवश्यक प्रक्रिया पूरा गरी व्यवस्थापन संकायको डिन कार्यालयमा पेश गर्ने निर्णय विभागले गरेको छ।

सार्वजनिक नीति निर्माण, कार्यान्वयन, प्रशासनिक व्यवस्थापन तथा शासन प्रणालीमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित तयार गरिएको यो पाठ्यक्रमलाई व्यवहारमुखी र समसामयिक बनाउन विशेष ध्यान दिइएको विभागले जनाएको छ।

पाठ्यक्रम निर्माण समिति गठनदेखि अन्तिम रूप दिनेसम्म

नयाँ पाठ्यक्रम निर्माणका लागि विभागीय प्रमुख डा. नरेन्द्रराज पौडेलको संयोजकत्वमा समिति गठन गरिएको थियो।

२०८२ चैत २३ गते गठित समितिमा डा. ध्रुवलाल पाण्डे, डा. सुस्मिता आचार्य, डा. भरत सिंह थापा र अजयकृष्ण पराजुली सदस्य रहेका थिए।

समितिले विभिन्न चरणमा छलफल, अध्ययन तथा विज्ञहरूको सुझाव समेट्दै पाठ्यक्रमलाई अन्तिम स्वरूप दिएको विभागले जनाएको छ।

प्राज्ञिक समीक्षा र गुणस्तर परीक्षण

निर्माण गरिएको पाठ्यक्रमको प्राज्ञिक समीक्षा तथा गुणस्तर परीक्षण प्रा. डा. प्रचण्ड प्रधान र प्रा. डा. टेकनाथ ढकालबाट गरिएको थियो।

दुवै प्राध्यापकबाट प्राप्त सुझाव, सल्लाह तथा रचनात्मक पृष्ठपोषणले पाठ्यक्रमलाई थप परिष्कृत र गुणस्तरीय बनाउन महत्वपूर्ण भूमिका खेलेको विभागको भनाइ छ।

विभागले सार्वजनिक नीति र शासनको क्षेत्रमा यस्तो नवीन तथा व्यवहारिक कार्यक्रम विकास गर्न विभिन्न प्राज्ञिक तथा प्रशासनिक क्षेत्रका विज्ञहरूको बौद्धिक योगदान महत्वपूर्ण रहेको जनाएको छ।

 

 

पूर्व विश्वविद्यालय नेतृत्वको योगदान

पाठ्यक्रम निर्माण तथा यसलाई अगाडि बढाउने प्रक्रियामा तत्कालीन विश्वविद्यालय नेतृत्वबाट समेत महत्वपूर्ण सहयोग प्राप्त भएको विभागले जनाएको छ।

विभागले तत्कालीन उपकुलपति प्रा. डा. दिपक अर्याल, तत्कालीन शिक्षाध्यक्ष प्रा. डा. खड्ग के.सी., तत्कालीन रजिष्ट्रार प्रा. डा. केदार रिजाल तथा विशेषगरी व्यवस्थापन संकायका डिन प्रा. डा. महानन्द चालिसेको भूमिकाप्रति आभार व्यक्त गरेको छ।

विभागले वर्तमान विश्वविद्यालय नेतृत्व तथा सम्बन्धित निकायबाट समेत आगामी दिनमा निरन्तर सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेको छ।

विज्ञदेखि कर्मचारीसम्मको योगदान

पाठ्यक्रम निर्माणका क्रममा विभिन्न विषयका प्राज्ञिक तथा प्रशासनिक क्षेत्रका विज्ञ व्यक्तित्वहरूबाट विषयगत पाठ्यक्रम तयार गर्न सहयोग प्राप्त भएको विभागले जनाएको छ।

उनीहरूले दिएका बौद्धिक सुझाव, रचनात्मक सहयोग तथा विषयगत योगदानले नयाँ कार्यक्रमलाई व्यवहारिक र गुणस्तरीय बनाउन सहयोग पुगेको विभागको भनाइ छ।

यसैगरी, कार्यसम्पादनका क्रममा विभागका कर्मचारीहरू केवल पाठक, रमेश घिमिरे, कमला कुमारी शाह र देवी तामाङले समेत महत्वपूर्ण प्रशासनिक तथा व्यवस्थापकीय सहयोग गरेको विभागले जनाएको छ।

विभागले पाठ्यक्रम निर्माणमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा समेत निरन्तर सहकार्य, मार्गदर्शन र सहयोगको अपेक्षा गरेको छ।

अब कार्यान्वयनतर्फ

पाठ्यक्रम निर्माण र प्राज्ञिक समीक्षा पूरा भएसँगै विभागले अब यसलाई औपचारिक कार्यान्वयनको प्रक्रियामा लैजाने तयारी गरेको छ।

सार्वजनिक नीति, शासन, प्रशासनिक व्यवस्थापन र समसामयिक सार्वजनिक क्षेत्रका चुनौतीलाई सम्बोधन गर्न सक्ने जनशक्ति विकास गर्ने उद्देश्यले तयार गरिएको यो कार्यक्रम कार्यान्वयनमा आएमा जनप्रशासनको अध्ययनलाई थप नीति तथा व्यवहारसँग जोड्ने अवसर सिर्जना हुने अपेक्षा विभागले गरेको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार