साउदीलाई हराउँदै नेपाल सेमिफाइनलमा


काठमाडौं ।  नेपाल एसिसी प्रिमियर कप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। समूह ‘ए’ अन्तर्गत आइतबार साउदी अरेबियालाई पाँच विकेटले पराजित गर्दै नेपालले लगातार तेस्रो जितसहित अन्तिम चारमा स्थान पक्का गरेको हो।

क्वालालम्पुरस्थित बायुमास ओभलमा साउदीले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो। गुल्सन झाले अविजित ४४ रन बनाए भने रोहितकुमार पौडेल २४ रनमा नटआउट रहे। देव खनालले ३९ र इशान पाण्डेले ४० रनको योगदान दिए।

यसअघि टस जितेर ब्याटिङ गरेको साउदी अरेबिया ४९.२ ओभरमा १९० रनमा अलआउट भएको थियो। अब्दुल वाहिदले सर्वाधिक ७७ रन बनाए। नेपालका कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले तीन–तीन विकेट लिए भने ललित राजवंशीले दुई विकेट लिए।

नेपालले यसअघि बहराइनलाई सात विकेट र मलेसियालाई छ विकेटले पराजित गरेको थियो। तीन खेलबाट ६ अंक जोडेको नेपाल समूह ‘ए’ को शीर्ष स्थानमा छ। अब नेपालले समूह चरणको अन्तिम खेल हङकङसँग खेल्नेछ।

प्रतियोगितामा १० टोली सहभागी छन्। दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् भने विजेताले २०२७ को एसिया कपमा स्थान बनाउनेछ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार