बुढानीलकण्ठका कर्मचारीको मानवीय पहल : भोटेकोशी बाढीपीडितका लागि १५ लाख ७२ हजार

उद्धार कोषमा रकम जम्मा गर्नेदेखि स्वास्थ्य टोली परिचालनसम्म चार निर्णय, संकटमा स्थानीय तहको उदाहरणीय सक्रियता


काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भइरहेका बेला काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाका कर्मचारीले बाढीपीडितका लागि सहयोगको हात अघि बढाएका छन् ।

बुढानीलकण्ठ नगरपालिका तथा मातहतका कार्यालयमा कार्यरत कर्मचारीबाट संकलित १५ लाख ७२ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाको संयोजनमा बुधबार बसेको बैठकले बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

प्राकृतिक विपत्तिका बेला सरकारी निकायले औपचारिक जिम्मेवारी पूरा गर्ने मात्रै नभई आफ्ना कर्मचारीमार्फत समेत पीडित नागरिकको दुःखमा साथ दिन सकिन्छ भन्ने सन्देश बुढानीलकण्ठको यो निर्णयले दिएको छ ।

विशेषगरी कर्मचारीको तर्फबाट संकलित रकम उद्धार कोषमा जम्मा गर्ने निर्णय स्थानीय तहभित्रको मानवीय सहकार्यको उदाहरणका रूपमा देखिएको छ । बाढी तथा पहिरोबाट प्रभावित नागरिक तत्काल राहत, उद्धार र पुनर्स्थापनाको पर्खाइमा रहेका बेला बुढानीलकण्ठले देखाएको यो अग्रसरताले अन्य स्थानीय तहलाई समेत विपद्को समयमा आ–आफ्नो क्षमता र स्रोतअनुसार सहयोगका लागि अघि बढ्न प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

नगरपालिकाले रकम संकलन गरेर कोषमा जम्मा गर्ने निर्णयसँगै बाढी प्रभावित क्षेत्रमा आवश्यक राहत तथा सहयोग उपलब्ध गराउन सम्बन्धित सरकारी निकाय, स्थानीय तह तथा सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्ने निर्णयसमेत गरेको छ ।

नगरपालिकाले विपद्को समयमा नागरिकको जीवनरक्षा, राहत र पुनर्स्थापनालाई प्राथमिकतामा राख्दै आवश्यक सहयोगका लागि निरन्तर समन्वय गर्ने प्रतिबद्धता जनाएको छ ।

बुढानीलकण्ठका चार निर्णय

नगरपालिकाको निर्णयअनुसार बाढीपीडितको राहत, उद्धार तथा पुनर्स्थापनालाई लक्षित गर्दै निम्न चार महत्वपूर्ण निर्णय भएका छन्–

१. कर्मचारीबाट संकलित १५ लाख ७२ हजार रुपैयाँ उद्धार कोषमा जम्मा गर्ने

रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले बुढानीलकण्ठ नगरपालिका तथा मातहतका कार्यालयमा कार्यरत कर्मचारीबाट संकलित रु. १५ लाख ७२ हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको छ ।

२. रकम तत्काल उद्धार कोषमा पठाउने प्रक्रिया अघि बढाउने

निर्णयअनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न नगरपालिकाको आर्थिक प्रशासन महाशाखाले प्रचलित कानुन तथा स्वीकृत प्रक्रियाबमोजिम तत्काल आवश्यक प्रक्रिया अघि बढाउने भएको छ ।

३. राहत र सहयोगका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने

विपद्को अवस्थामा प्रभावित नागरिकलाई आवश्यक राहत तथा सहयोग उपलब्ध गराउन सम्बन्धित सरकारी निकाय, स्थानीय तह तथा अन्य सरोकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य गर्ने निर्णय गरिएको छ ।

४. बुढानीलकण्ठ नगर अस्पतालको र्‍यापिड रेस्पोन्स मेडिकल टिम परिचालन गर्ने

विपद् प्रभावित क्षेत्रमा आवश्यक परेको समयमा बुढानीलकण्ठ नगर अस्पतालको यापिड रेस्पोन्स मेडिकल टिम (RRT) लाई पूर्ण रूपमा परिचालन गर्ने निर्णयसमेत नगरपालिकाले गरेको छ ।

‘विपत्तिमा एक स्थानीय तहले अर्को नागरिकको दुःख बुझ्नुपर्छ’

भौगोलिक रूपमा बाढी प्रभावित जिल्लाभन्दा टाढा रहेको बुढानीलकण्ठले आफ्ना कर्मचारीबाट रकम संकलन गरी उद्धार कोषमा पठाउने निर्णय गर्नुले विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका स्थानीय सीमाभन्दा बाहिर पनि विस्तार हुन सक्ने देखाएको छ ।

विपद् जुनसुकै जिल्लामा आए पनि त्यसको पीडा अन्ततः नेपाली नागरिककै पीडा भएकाले राज्यका सबै तह र निकायले आफ्नो क्षमता र स्रोतअनुसार सहयोग गर्नुपर्ने सन्देश यो निर्णयले दिएको छ ।

अझ महत्वपूर्ण कुरा, स्थानीय तहसँग उपलब्ध आर्थिक स्रोत, जनशक्ति र स्वास्थ्य सेवाको प्रयोग गरेर विपद्को समयमा ‘सरकार नागरिकको साथमा छ’ भन्ने अनुभूति दिलाउन सकिन्छ भन्ने उदाहरण बुढानीलकण्ठले प्रस्तुत गरेको छ ।

भोटेकोशी बाढीबाट प्रभावित नागरिकको तत्काल उद्धार, उपचार, राहत तथा पुनर्स्थापनाका लागि ठूलो स्रोत आवश्यक भइरहेका बेला बुढानीलकण्ठको यो पहलले अन्य नगरपालिका तथा गाउँपालिकालाई समेत आफ्ना कर्मचारी, जनप्रतिनिधि र उपलब्ध स्रोत परिचालन गरी विपद् प्रभावितको सहयोगमा उभिन उत्प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

नगरपालिकाले बाढी तथा विपद्बाट प्रभावित नागरिकको शीघ्र उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सम्बन्धित सबै पक्षलाई प्रभावकारी समन्वय र सहकार्यमा जुट्नसमेत आग्रह गरेको छ ।

२०८३ भाद्र १०, बुधबार १७:५६ प्रकाशित
ट्रेन्डिङ समाचार