नाडा अटो शोमा ५३ ब्रान्ड, नेपाली उत्पादनलाई विशेष प्राथमिकता


काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को आयोजनामा १८औँ संस्करणको नाडा अटो शो २०२६ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। उपराष्ट्रपति रामसहाय यादवले शोको उद्घाटन गरेका हुन्।

अटो शोमा दुईपांग्रे, चारपांग्रे र व्यावसायिक सवारीसाधन गरी ५३ ब्रान्ड सहभागी छन्। विभिन्न ब्रान्डले डेढ दर्जनभन्दा बढी नयाँ मोडल सार्वजनिक तथा प्रदर्शन गर्दैछन्।

यसपटकको मुख्य आकर्षणमध्ये नेपालमै उत्पादन भएको विद्युतीय स्कुटर ‘यात्री पी–२’ पनि रहेको छ। नाडाले नेपाली उत्पादनलाई प्राथमिकता दिँदै ‘मेड इन नेपाल, मेड फर नेपाल’ प्याभिलियनसमेत सञ्चालन गरेको छ। यहाँ यात्रीसहित करिब आठ नेपाली उत्पादकले विद्युतीय सवारी, ब्याट्री, ल्युब्रिकेन्ट, हेल्मेटलगायतका उत्पादन प्रदर्शन गरेका छन्।

अटो शोमा बीवाईडी, जीली, टाटा ईभी, सुजुकी, एमजी, दीपल, ओमोडा, जेको, चांगन, स्कोडालगायतका विभिन्न अन्तर्राष्ट्रिय ब्रान्ड सहभागी छन्। दुईपांग्रेतर्फ रोयल इन्फिल्ड, यात्री, हिरो, यामाहा, भेस्पा–अप्रिलिया, रिभोल्टलगायतका ब्रान्ड रहेका छन्।

प्रदर्शनीमा सवारीसाधनबाहेक बैंक तथा वित्तीय संस्था, बीमा, अटो पार्ट्स र ग्यारेज उपकरणका २०० भन्दा बढी स्टल छन्। सर्वसाधारणका लागि प्रवेश शुल्क २०० रुपैयाँ र विद्यार्थीका लागि १५० रुपैयाँ तोकिएको छ।

नाडाले नेपाली उत्पादनलाई छुट्टै स्थान दिएर प्रदर्शन गर्नुले नेपाल अटोमोबाइल बजार आयातमा मात्र निर्भर नभई उत्पादन र आत्मनिर्भरतातर्फ अघि बढिरहेको सन्देश दिने जनाएको छ।

२०८३ भाद्र ९, मंगलवार १२:२८ प्रकाशित
ट्रेन्डिङ समाचार