काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका क्रममा पीडित श्रमिकबाट आएका उजुरी फस्र्योटलाई तीव्रता दिएको छ। विभागका अनुसार साउन महिनामा अनलाइनमार्फत दर्ता भएका ३८१ उजुरीमध्ये ८६ प्रतिशत फस्र्योट गरिएको छ।
फस्र्योट भएका उजुरीका आधारमा २८८ जना श्रमिकलाई सात करोड ८१ लाख ५६ हजार ५४० रुपियाँ फिर्ता गराइएको विभागले जनाएको छ। यस्तै, राहत तथा उद्धारअन्तर्गत २६ जना नेपाली श्रमिकको उद्धार गरिएको छ भने ५४ जना श्रमिकलाई एक करोड पाँच लाख ७६ हजार रुपियाँ क्षतिपूर्ति उपलब्ध गराइएको छ।
साउनमा वैदेशिक रोजगारसम्बन्धी व्यक्तिगततर्फ ६०८ नयाँ मुद्दा दर्ता भएका छन्। तीमध्ये ७१ मुद्दा अदालतमा दायर गरिएको र १७८ मुद्दा आपसी मिलापत्रबाट टुङ्ग्याइएको विभागले जनाएको छ। मिलापत्रबाट टुङ्ग्याइएका मुद्दामा श्रमिकलाई छ करोड ६४ लाख १७ हजार ४० रुपियाँ क्षतिपूर्ति भराइएको छ।
विभागले म्यानपावर कम्पनीले रकम लिएर वैदेशिक रोजगारीमा नपठाएको गुनासोका आधारमा ११ लाख ६३ हजार रुपियाँसमेत फिर्ता गराएको जनाएको छ। साउनमा विभागले २६ नियमित र तीन आकस्मिक गरी २९ वटा अनुगमन गरेको तथा दोषीबाट ३९ लाख रुपियाँ दण्ड–जरिबाना असुल गरेको छ।
महानिर्देशक मीरा आचार्यले पीडितसँग रकम तिरेको प्रमाण नहुनु र कमजोर मिलापत्रलगायतका चुनौती रहेको बताउनुभयो। विभागले अनधिकृत एजेन्टमार्फत उठाइएको रकमलाई समेत अनुसन्धानको दायरामा ल्याउँदै म्यानपावर कम्पनीसँगको सम्बन्ध पुष्टि गर्ने काम अघि बढाएको उहाँले जानकारी दिनुभयो। विभागले प्रमाणका आधारमा श्रमिकले बेहोरेको वास्तविक लागतअनुसार क्षतिपूर्ति सुनिश्चित गर्ने र डिजिटल उजुरी प्रणालीलाई थप व्यवस्थित बनाउने जनाएको छ।


