काठमाडौं । पछिल्लो चार महिनामा ३७६ जना निजामती कर्मचारीले सेवाबाट राजीनामा दिएका छन्। राष्ट्रिय किताबखाना (निजामती) का अनुसार गत वैशाखदेखि साउन मसान्तसम्म ३ जना सचिव, ७० जना सहसचिव र ६५ जना उपसचिवसहित ३७६ कर्मचारीले राजीनामा दिएका हुन्।
राजीनामा दिनेमा नीति निर्माण र कार्यान्वयनको माथिल्लो तहमा रहेका कर्मचारीको संख्या उल्लेख्य छ। किताबखानाका निर्देशक एवं सूचना अधिकारी सुदन ख्वाखली श्रेष्ठका अनुसार राजीनामा दिने सचिवमा गोविन्द शर्मा र डा. कमलप्रसाद पोखरेललगायत छन्।
त्यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा कार्यरत सहसचिव लेखनाथ ज्ञवाली तथा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जगेडामा रहेका सहसचिव विनोद लामिछाने र चन्द्रबहादुर शिवाकोटीले पनि राजीनामा दिएका छन्।
सरकारले ल्याउने तयारी गरेको निजामती सेवा ऐनमा ५५ वर्षमा अनिवार्य अवकाश र ३० वर्षे सेवाअवधिको व्यवस्था गर्न लागेकाले त्यसबाट बच्न केही उच्च तहका कर्मचारीले राजीनामा दिएको हुन सक्ने सरकारी अधिकारीहरूको भनाइ छ।
किताबखानाका अनुसार यति छोटो अवधिमा उच्च तहका कर्मचारीले ठूलो संख्यामा राजीनामा दिएको यो पहिलो पटक हो। यसअघि राजीनामा दिएर सेवा छाड्नेभन्दा अनिवार्य अवकाशमा जाने कर्मचारीको संख्या बढी हुने गरेकोमा अहिले राजीनामा दिने कर्मचारीको संख्या अनिवार्य अवकाशमा जानेभन्दा बढी भएको छ।


