काठमाडौँ । टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जन्मकैदको सजाय पाएका रेशम चौधरीलाई आममाफी दिने तत्कालीन सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा पेसी तोकिएको छ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नृपध्वज निरौलाको संयुक्त इजलासमा उक्त रिटको सुनुवाइका लागि पेसी तोकिएको हो। साढे दुई वर्षदेखि सुनुवाइ हुन नसकेको रिटलाई सर्वोच्चले अग्राधिकारमा राखेर सुनुवाइका लागि पेसी तोकेको हो।
टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदा कडायतले चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध २०८० जेठ १६ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन्। त्यसको एक सातापछि न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै रिटलाई अग्राधिकार दिएको थियो।
सरकारका विभिन्न निकायले २०८० साउन ८ गतेभित्रै सर्वोच्चमा लिखित जवाफ पेस गरे पनि त्यसपछि रिटको सुनुवाइ हुन सकेको थिएन। अब भने उक्त रिट संयुक्त इजलासमा सुनुवाइका लागि पेसीमा चढेको छ।


