काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्ले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्कीलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को २०८३ भदौ ३ गतेको बैठकले नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२ को उपदफा (१) बमोजिम कार्कीलाई नियुक्त गरेको हो।
उदयपुरका स्थायी बासिन्दा कार्की नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट अवकाश प्राप्त व्यक्ति हुन्। उनी यसअघि पनि नागरिक लगानी कोषको कार्यकारी निर्देशक भइसकेका छन्। २०८० माघ ३ गते खुला प्रतिस्पर्धाबाट उनी कोषको कार्यकारी निर्देशकमा छनोट भएका थिए।
कार्कीसँग नेपाल राष्ट्र बैंकका साथै नेपाल ग्रामीण विकास बैंक र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा काम गरेको अनुभव छ। उनले अष्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयबाट मास्टर अफ बैंकिङ एन्ड फाइनान्स तथा त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन्। केन्द्रीय बैंकिङ, वित्तीय स्थिरता र वित्तीय बजार विश्लेषणलगायत विषयमा उनले अन्तर्राष्ट्रिय तालिमसमेत लिएका छन्।


