राष्ट्र बैंक ऐन संशोधनमा थप छलफल आवश्यक : अर्थमन्त्री वाग्ले


काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन विधेयकमाथि थप छलफल आवश्यक रहेको बताएका छन्।

अर्थ समितिको बैठकमा दफावार छलफलका क्रममा मन्त्री वाग्लेले सानो समूहमा थप छलफल गरी आवश्यक प्रस्तावसहित विधेयक अघि बढाउन सकिने बताए।

उनले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिँदै बजेटमा करिब ८० परिच्छेदअन्तर्गत ४३१ कार्यान्वयनयोग्य बुँदा समेटिएको बताए। बजेटमा उल्लेख गरिएका करिब २७ वटा ऐन पारित गर्ने सरकारको प्रतिबद्धता रहेको उनको भनाइ छ।

वाग्लेले लगानी तथा निजी क्षेत्रमैत्री वातावरण निर्माणका लागि करिब १५ वटा ऐन खारेज गर्ने विधेयक पनि समितिमा आउने जानकारी दिए। नयाँ कानुन निर्माणतर्फ उद्योग मन्त्रालयसँग सम्बन्धित ८–९ वटा र अर्थ मन्त्रालयसँग सम्बन्धित ६–७ वटा ऐन रहेको उनले बताए।

यसैगरी, सरकारले चालु आर्थिक वर्षमै पियर–टु–पियर (पीटुपी) लेन्डिङ कार्यान्वयनमा ल्याउने तयारी गरेको उनले जानकारी दिए। यसको कानुनी आधार तयार गर्न भुक्तानी तथा फछ्र्योट विधेयकमा आवश्यक व्यवस्था समेट्न सुझाव दिइएको उनले बताए।

मन्त्री वाग्लेले आर्थिक वर्ष सुरु भएयता बुधबारसम्म राजस्व संकलन एक खर्ब रुपैयाँभन्दा बढी पुगेको जानकारी दिँदै राजस्व संकलनमा सरकार गम्भीर रहेको बताए।

२०८३ भाद्र ४, बिहीबार २०:०६ प्रकाशित
ट्रेन्डिङ समाचार