काठमाडौं । वाणिज्य बैंकहरूले साउन महिनाका लागि पनि निक्षेपको ब्याजदर घटाएका छन्। कर्जाको माग कमजोर र निक्षेप निरन्तर बढ्दै जाँदा बैंकहरूमा अधिक तरलताको चाप बढेकाले लागत घटाउन ब्याजदर घटाइएको हो।
२० वाणिज्य बैंकमध्ये ६ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने १४ बैंकले अघिल्लो महिनाकै दर कायम राखेका छन्। कुनै पनि बैंकले ब्याजदर बढाएका छैनन्। असारमा औसत ४.२६ प्रतिशत रहेको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर साउनमा घटेर ४.१७ प्रतिशतमा पुगेको छ।