काठमाडौं । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती गृहजिल्ला तनहुँमा विविध कार्यक्रमसहित मनाइने भएको छ।
भानुभक्त जन्मस्थल विकास समितिले असार २७, २८ र २९ गते तीन दिनसम्म विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी गरेको हो। समितिका अध्यक्ष एवं भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीको अध्यक्षतामा बसेको बैठकले कार्यक्रमको निर्णय गरेको हो।
समितिका कार्यकारी सचिव कृपाहरी लौडारीका अनुसार पहिलो दिन विभिन्न मठमन्दिरमा पूजाअर्चना गरिनेछ। दोस्रो दिन भानुभक्तीय रामायण वाचन तथा पाठ प्रतियोगिता र साँझ साहित्यकार, कवि तथा स्रष्टाको सहभागितामा कवि गोष्ठी आयोजना गरिनेछ।
असार २९ गते भानुभक्तको शालिकमा माल्यार्पणपछि झाँकीसहित प्रभातफेरी निकालिनेछ। सोही अवसरमा कविता वाचन, भानुभक्तको जीवन, व्यक्तित्व र कृतित्वमाथि छलफल तथा भानु जन्मस्थल संरक्षण र प्रवर्द्धनसम्बन्धी संवाद कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
नेपाली भाषामा रामायण अनुवाद गरी साहित्यलाई जनस्तरसम्म पुर्याएका भानुभक्त नेपाली भाषा र साहित्यका अमर विभूतिका रूपमा चिनिन्छन्। उनको जन्म विसं १८७१ असार २९ गते र निधन विसं १९२५ असोज ६ गते भएको थियो।