शासकीय स्वरूपमाथि प्रश्न उठाउनु अपरिपक्वता : आङदेम्बे
काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता भएको बताएका छन्।
६८औँ संसद् दिवसका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा उनले संघीय व्यवस्था नेपाली जनताको लामो संघर्षबाट प्राप्त ऐतिहासिक उपलब्धि भएकाले यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताए। नेतृत्वको कमजोरी र अकर्मण्यतालाई ढाकछोप गर्न शासकीय स्वरूपलाई दोष दिनु उचित नहुने उनको भनाइ थियो।
आङदेम्बेले संघीय संरचनाप्रति संशय पैदा गर्ने गतिविधिबाट टाढा रहँदै संसद् दिवसलाई देश र जनताप्रतिको प्रतिबद्धता बलियो बनाउने अवसरका रूपमा मनाउन सबै राजनीतिक दललाई आग्रह गरे।