काठमाडौं । काठमाडौं उपत्यकाको उत्तरतर्फ शिवपुरी पर्वतको काखमा फैलिएको बुढानीलकण्ठ नगरपालिका अहिले धार्मिक आस्था, प्राकृतिक सौन्दर्य, शहरी विकास र सुशासनको संगमका रूपमा आफ्नो पहिचान विस्तार गर्दैछ। राजधानीको भीडभाडबाट केही टाढा रहेर पनि सहज पहुँचमा रहेको यो नगरपालिका हरियाली, धार्मिक सम्पदा र आधुनिक शहरी सम्भावनाले भरिएको क्षेत्रका रूपमा अघि बढिरहेको छ।
शिवपुरीको फेदीमा रहेको बुढानीलकण्ठ क्षेत्र केवल एउटा नगरपालिका मात्र होइन, धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण पहिचान बोकेको स्थान हो। बिहानको सूर्योदयसँगै शिवपुरीको हरियालीबाट आउने शीतल हावा, ऐतिहासिक मन्दिर तथा गुम्बाहरूको आध्यात्मिक वातावरण र राजधानीसँगको नजिकपनले यस क्षेत्रलाई काठमाडौंकै आकर्षक गन्तव्यमध्ये एक बनाएको छ।
बुढानीलकण्ठ नगरपालिका धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुँदै गएको छ। यहाँ रहेको प्रसिद्ध बुढानीलकण्ठ मन्दिर, इस्कोन मन्दिर, विष्णुद्वार धाम, कपन गुम्बा, बागद्वार, नागी गुम्बा, नौलिन भद्रकाली मन्दिर, खड्का भद्रकालीलगायतका धार्मिक तथा पर्यटकीय स्थलहरूले देश तथा विदेशका पर्यटकलाई आकर्षित गर्दै आएका छन्।
शैव, वैष्णव र बौद्ध धर्मावलम्बीहरूको साझा आस्थाको क्षेत्रका रूपमा परिचित बुढानीलकण्ठमा हिन्दु, बौद्ध, किराँत, इसाईलगायत विभिन्न धर्म र संस्कृतिको सहअस्तित्व देख्न सकिन्छ। चण्डेश्वर, रूद्रेश्वर, पञ्चकन्या, शिव, कृष्ण, वंगलामुखीलगायतका मन्दिर तथा विभिन्न बौद्ध गुम्बाहरूले यस क्षेत्रको धार्मिक महत्वलाई थप उजागर गरेका छन्।

प्राकृतिक सौन्दर्यले भरिएको राजधानीको हरियो क्षेत्र
३४.८० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको बुढानीलकण्ठ नगरपालिकाको उत्तरतर्फ शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज र पर्वतीय क्षेत्र रहेको छ भने दक्षिणतर्फ बाक्लो आवासीय बस्ती विस्तार भएको छ। यहाँको उचाइ समुद्री सतहबाट १ हजार २८९ मिटरदेखि २ हजार ६९९ मिटरसम्म रहेको छ।
विष्णुमती, रूद्रमती, धोबीखोला, यज्ञमती र च्यानेखोलाजस्ता नदी तथा खोलाहरूले यस क्षेत्रको प्राकृतिक स्वरूपलाई थप जीवन्त बनाएका छन्। राजधानीको नजिक रहेर पनि प्राकृतिक वातावरणको अनुभव गर्न सकिने भएकाले बुढानीलकण्ठलाई काठमाडौंको हरियो क्षेत्रका रूपमा समेत हेर्न थालिएको छ।
ऐतिहासिक पृष्ठभूमि र तीव्र शहरी विस्तार
नेपाल सरकारको तत्कालीन सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको निर्णयअनुसार वि.सं. २०७१ मंसिर १६ गते बुढानीलकण्ठ नगरपालिका स्थापना भएको हो। साविकका चपली, भद्रकाली, खड्का भद्रकाली, चुनिखेल, महाङ्काल, विष्णुबुढानीलकण्ठ र कपन गाविसलाई समेटेर नगरपालिका गठन गरिएको थियो।

प्रारम्भमा १९ वडामा विभाजन गरिएको भए पनि नेपाल सरकारको वि.सं. २०७१ फागुन २७ गतेको निर्णयअनुसार पुनः समायोजन गरी हाल १३ वटा वडा कायम गरिएको हो।
काठमाडौं जिल्लाका स्थानीय तहमध्ये जनसंख्याका आधारमा ठूलो नगरपालिकाको रूपमा रहेको बुढानीलकण्ठमा हाल १ लाख ७७ हजार ५५७ जनसंख्या रहेको छ। यहाँ महिला ९० हजार २२० र पुरुष ८७ हजार ३३७ रहेका छन्। विभिन्न जातजाति र समुदायको बसोबास रहेको यस नगरपालिकामा नेपाली, नेवारी, तामाङ, मगर, मैथिली, राई, शेर्पा, गुरुङलगायत भाषा र संस्कृतिको विविधता पाइन्छ।
आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम : पर्यटन, सुशासन र समृद्धिको आधार
बुढानीलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममार्फत धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धनलाई प्राथमिकतामा राखेको छ। नगरपालिकाले धार्मिक सम्पदा संरक्षण, पर्यटन पूर्वाधार विकास, वातावरण संरक्षण, दिगो विकास र प्रविधिमैत्री सेवा विस्तारलाई समृद्ध नगर निर्माणको आधारका रूपमा अघि सारेको छ।
नगरपालिकाको लक्ष्य केवल भौतिक विकासमा सीमित नभई नागरिकलाई सहज, छिटो र पारदर्शी सेवा दिने प्रशासनिक प्रणाली निर्माण गर्नु रहेको छ। डिजिटल सुशासन, प्रविधिको प्रयोग र सेवा प्रवाहमा सुधारलाई आगामी योजनाको महत्वपूर्ण पक्षका रूपमा लिइएको छ।
बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले नगरलाई नमूनायोग्य पालिका बनाउने उद्देश्यसहित धार्मिक, पर्यटकीय र पूर्वाधार विकासमा निरन्तर काम भइरहेको बताए।
“बुढानीलकण्ठलाई उत्कृष्ट र नमूनायोग्य नगरपालिका बनाउने हाम्रो लक्ष्य हो। यहाँ रहेका धार्मिक तथा पर्यटकीय सम्पदाको संरक्षण र प्रवद्र्धनसँगै सुशासन र दिगो विकासलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ,” अधिकारीले भने।
उनका अनुसार राजधानीको महत्वपूर्ण क्षेत्र भएर पनि यसको प्राकृतिक र सांस्कृतिक पहिचानलाई जोगाउँदै आधुनिक नगर निर्माण गर्ने प्रयास भइरहेको छ।
एआई र प्रविधिमैत्री सेवा प्रणाली विस्तारको लक्ष्य
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले बुढानीलकण्ठलाई सर्वोत्कृष्ट पालिका बनाउने गरी प्रशासनिक सुधार र प्रविधिमैत्री सेवा प्रणालीलाई प्राथमिकता दिइएको बताए।
“एआई र प्रविधिमैत्री सेवा प्रणालीलाई विस्तार गर्दै सेवा प्रवाहलाई अझ छिटो, पारदर्शी र पूर्वानुमानयोग्य बनाउने हाम्रो प्राथमिकता हो,” बर्तौलाले भने।
उनका अनुसार दिगो पूर्वाधार निर्माणसँगै नियमित मर्मतसम्भारलाई संस्थागत गर्ने, फोहरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउने र वातावरण संरक्षणका कार्यक्रमलाई नीतिगत रूपमा सुदृढ बनाउने योजना अघि बढाइएको छ।
शिक्षा र स्वास्थ्यमा पनि विस्तार
नगरपालिकाभित्र हाल १९ वटा सामुदायिक विद्यालय र १२ वटा स्वास्थ्य संस्था सञ्चालनमा छन्। बढ्दो जनसंख्या र शहरीकरणसँगै शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी तथा अन्य आधारभूत सेवाको विस्तारलाई पनि नगरपालिकाले प्राथमिकतामा राखेको छ।
राजधानीको छेउमा भएर पनि प्राकृतिक, धार्मिक र सांस्कृतिक पहिचान कायम राख्न सफल बुढानीलकण्ठ अहिले नयाँ सम्भावनाको शहरका रूपमा अघि बढिरहेको छ। धार्मिक पर्यटन, वातावरणमैत्री विकास, डिजिटल सुशासन र नागरिकमैत्री सेवाको लक्ष्यसहित अघि बढिरहेको यो नगरपालिका आगामी दिनमा काठमाडौंको मात्र नभई देशकै नमूना स्थानीय सरकार बन्ने यात्रामा रहेको देखिन्छ।

