काठमाडौं । नेपालमा खाना पकाउने विद्युतीय उपकरणको आयात उल्लेख्य रूपमा बढेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा इन्डक्सन चुल्हो, राइस कुकर र इन्फ्रारेड स्टोभको आयात गत वर्षको सोही अवधिको तुलनामा तीव्र वृद्धि भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
साउन र भदौमा ४ करोड ३७ लाख ८० हजार रुपैयाँ बराबरका १९ हजार ५०० थान इन्डक्सन चुल्हो आयात भएका छन् । गत वर्ष सोही अवधिमा २ करोड ५७ लाख २९ हजार रुपैयाँका ११ हजार ६०० थान इन्डक्सन आयात भएका थिए । मूल्यका आधारमा इन्डक्सनको आयात करिब ७० प्रतिशत र परिमाणका आधारमा ६८ प्रतिशतले बढेको हो ।
राइस कुकरको आयात पनि बढेको छ । गत वर्षको पहिलो दुई महिनामा ६ करोड ६२ लाख रुपैयाँका ४७ हजार ४०० थान आयात भएकोमा यस वर्ष ११ करोड ९० लाख रुपैयाँका ७३ हजार थान राइस कुकर आयात भएका छन् ।
इन्फ्रारेड स्टोभको आयातमा भने अझ ठूलो वृद्धि देखिएको छ । गत वर्ष साउन–भदौमा २ करोड ४६ लाख रुपैयाँका १३ हजार ५०० थान आयात भएकोमा यस वर्ष ८ करोड ७५ लाख रुपैयाँका ४१ हजारभन्दा बढी थान भित्रिएका छन् ।
गत वर्ष फागुन–चैततिर देखिएको एलपी ग्यासको अभावपछि उपभोक्ता वैकल्पिक ऊर्जातर्फ आकर्षित भएकाले विद्युतीय खाना पकाउने उपकरणको माग बढेको हुन सक्ने अनुमान गरिएको छ । विद्युत् आपूर्तिमा सुधारसँगै नेपाली भान्सामा विद्युतीय उपकरणको प्रयोग बढ्दै गएको पछिल्लो आयात तथ्यांकले संकेत गरेको छ ।


प्रतिक्रिया