काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले मध्यराति महाराजगञ्जस्थित निवासबाट टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा लगेको छ।
प्रहरी नायव उपरीक्षक (डीएसपी)को नेतृत्वमा करिब एक दर्जन सादा पोशाकका प्रहरी राति साढे १२ बजेतिर जबराको घर पुगेका थिए। प्रहरीले ‘सुरक्षा थ्रेट’ रहेको भन्दै उनलाई कार्यालय लैजान खोजे पनि जबराले सुरुमा अस्वीकार गरेका थिए। करिब डेढ घण्टाको छलफलपछि उनलाई राति २ बजेतिर प्रहरी कार्यालय लगिएको बताइएको छ।
अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार जबरामाथि ‘जेनजी’बाट भौतिक आक्रमण हुनसक्ने सूचना आएपछि सुरक्षाका लागि उनलाई कार्यालय ल्याइएको हो। प्रहरीले जबराविरुद्ध पक्राउ पूर्जी जारी नभएको पनि जनाएको छ।
जबराविरुद्ध २०७८ फागुनमा महाअभियोग दर्ता भई उनी निलम्बनमा परेका थिए। गत २४ भदौमा सर्वोच्च अदालतको संवैधानिक इजलासले महाअभियोगको औचित्य समाप्त भएको भन्दै सम्बन्धित रिट खारेज गरेको थियो।

प्रतिक्रिया