ADVERTISEMENT

मानव बेचबिखन विधेयकमा १११ संशोधन प्रस्ताव


काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ मा २८ जना सांसदले १११ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन्।

प्रतिनिधिसभामा सैद्धान्तिक छलफल सम्पन्न भएपछि सांसदहरूले विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गरेका हुन्। संशोधन प्रस्ताव दर्ता गर्ने सांसदहरूमा इन्दिरा राना, हर्कराज राई, आरेन राई, रेनुका काउँचा, पवित्रा बिक, मदनकृष्ण श्रेष्ठ, प्रमिलाकुमारी गच्छदार, मनमाया विश्वकर्मा, गीता गुरुङलगायत रहेका छन्।

सरकारले मानव बेचबिखनबाट प्रभावित व्यक्तिको आत्मसम्मान, स्वतन्त्रता र मौलिक हक संरक्षण गर्ने उद्देश्यले विधेयक ल्याएको हो। विधेयकमा पीडितको न्यायमा पहुँच सुनिश्चित गर्ने, स्वदेश तथा विदेशमा मानव बेचबिखन तथा ओसारपसारको आरोपमा संलग्नलाई कानुनी दायरामा ल्याउने र दण्ड–सजायको दायरा फराकिलो बनाउने प्रस्ताव गरिएको छ।

त्यस्तै, संघीय संरचनाअनुसार तीनै तहका सरकारलाई मानव बेचबिखन नियन्त्रणमा जिम्मेवार बनाउने, पीडित तथा प्रभावितको उद्धार र पुनर्स्थापनालाई कानुनी रूपमा स्पष्ट गर्ने व्यवस्था विधेयकमा समेटिएको छ।

महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले गत १४ साउनमा प्रतिनिधिसभामा विधेयक दर्ता गरेकी थिइन्। विधेयकमा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि तथा त्यसअन्तर्गतका प्रावधानलाई समेत समेट्ने प्रस्ताव गरिएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार