क्रान्ति योद्धा श्रीमान मारिएपछि रातो क्रान्ति माग्दै श्रीमतीले गरेकी थिइन् आत्महत्या

गगनले सम्झाएको चितवन हत्याकाण्ड : शहीदको रगतले लेखिएको त्यो पीडादायी इतिहास


काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा नेपाली कांग्रेसका सभापति गगन थापाले दिएको एउटा अभिव्यक्तिले नेपालको लोकतान्त्रिक आन्दोलनको एउटा बिर्सन नहुने अध्याय फेरि चर्चामा ल्यायो।

राजनीतिक दलहरूले विगतमा गल्ती गरेका भए पनि “३५ वर्षमा केही भएन” भन्ने भाष्य मात्र स्थापित गर्न नहुने भन्दै थापाले इतिहासका संघर्ष र बलिदानलाई सम्झन आग्रह गरे। उनले विशेष रूपमा चितवनको त्यो भूमि सम्झाए, जहाँ लोकतन्त्रका लागि संघर्ष गर्ने थुप्रै योद्धाहरूले जीवन गुमाएका थिए।

चितवन अहिले नयाँ राजनीतिक शक्तिको बलियो आधारभूमि बनेको भए पनि त्यही भूमिले विगतमा प्रजातान्त्रिक संघर्षको अत्यन्त पीडादायी इतिहास बोकेको छ। थापाले संकेत गरेको घटनामध्ये प्रमुख थियो– २०१७ सालपछि नेपाली कांग्रेसले थालेको सशस्त्र संघर्षसँग जोडिएको चितवन काण्ड।

यो केवल एउटा राजनीतिक घटना थिएन, एउटा परिवारको सपना, प्रेम र बलिदान समाप्त भएको हृदयविदारक कथा पनि थियो।

यस घटनाका मुख्य पात्र थिए– जगतप्रकाशजंग शाह। उनी २०१५ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका थिए। २०१७ सालमा राजा महेन्द्रले निर्वाचित सरकार अपदस्थ गरेपछि उनी सशस्त्र संघर्षतर्फ लागे। चितवन कब्जा अभियानको नेतृत्व गर्दै उनी त्यहाँ पुगे।

तर सरकारी सेनाले उनलाई नियन्त्रणमा लियो। त्यसक्रममा उनका साथमा रहेका धेरै योद्धाहरू मारिए। इतिहासका विभिन्न विवरणअनुसार त्यसपछि जगतप्रकाशलाई काठमाडौं ल्याइयो र राजदरबारबाट आत्मसमर्पण गर्न दबाब दिइयो। तर उनले आत्मसमर्पण अस्वीकार गरे।

त्यसपछि उनलाई पुनः चितवन फर्काइएको र अत्यन्त क्रूर तरिकाले हत्या गरिएको उल्लेख पाइन्छ। उनको हत्या केवल एक व्यक्तिको अन्त्य थिएन, त्यो तत्कालीन राजनीतिक दमनको प्रतीक बन्यो।

जगतप्रकाशको जीवनसँग जोडिएको अर्को अझ मार्मिक पक्ष थियो– उनकी पत्नी रश्मि।

रश्मि नाट्यसम्राट बालकृष्ण समकी छोरी थिइन्। भनिन्छ, उनले नै पतिको कम्मरमा खुकुरी बाँधेर संघर्षको बाटोमा पठाएकी थिइन्। रेडियो नेपालमा काम गर्ने रश्मिले २०१७ सालको राजनीतिक घटनापछि आफ्नो जीवन नै बदलिएको महसुस गरिन्।

प्रिय पतिको हत्या भएपछि उनी गहिरो पीडामा डुबिन्। उनले लेखेको भनिएको सन्देशमा “रातो क्रान्ति” को आह्वान गर्दै नेपाल फेरि अन्याय र अत्याचारको देश नबनोस् ,भन्ने भाव व्यक्त गरेकी थिइन्। अन्ततः उनले आत्महत्या गरिन्।आइन्दा नेपाल सतिले सरापेशको देश नबनोस् भन्ने सुसाइड नोट लेख्दै  लेख्दै आत्महत्या गरेकी थिइन् । माथिको तस्वीर चितवनमा फेरि लगेर मारिएका शहीद जगतप्रकाशजंग शाह र रश्मिको हो। तस्वीरमा जगतप्रकाश पत्नि रश्मिलाई रेडियो नेपाल पुर्याउन आफ्नो मोटरसाइकलको पछिल्तिर राखेर लैजाँदै गरेको दृश्य देखिन्छ । रश्मि २००७ पछि रेडियो नेपालमा काम गर्थिन् । २०१७ को पीडादायी घटनापछि उनले रेडियो नेपाल छाडिन् ।

यो घटना नेपालको प्रजातान्त्रिक इतिहासमा अत्यन्त पीडादायी अध्यायका रूपमा सम्झिन्छ। चितवनसहित लमजुङ, तनहुँ, धादिङलगायत क्षेत्रमा त्यस समयका संघर्षमा धेरै कांग्रेस समर्थक तथा प्रजातन्त्र पक्षधरहरू मारिएका थिए।

गगन थापाले रास्वपाका नेता–कार्यकर्तालाई सम्झाउन खोजेको सन्देश यही थियो– राजनीतिक परिवर्तन केवल चुनावी परिणामबाट मात्र आउँदैन, त्यसका पछाडि लामो संघर्ष, त्याग र बलिदानको इतिहास हुन्छ।

नयाँ राजनीतिक शक्तिहरूले जनताको आशा बोकेर अघि बढ्दा पनि विगतका संघर्ष र बलिदानलाई सम्मान गर्नुपर्ने उनको आग्रह थियो।

चितवनको माटो आज पनि केवल चुनावी नक्साको एउटा क्षेत्र होइन। त्यो इतिहासका घाउ, संघर्षका सम्झना र लोकतन्त्रका लागि जीवन अर्पण गर्नेहरूको कथा बोकेको भूमि हो।

२०८३ असार ८, सोमबार १०:३० प्रकाशित
ट्रेन्डिङ समाचार