सीमा अभिव्यक्तिबारे प्रधानमन्त्री बालेन्द्रको प्रष्टीकरण : ‘मेरो राष्ट्रियतामाथि शंका नगर्नुस्’
कालापानी–लिपुलेकको प्रमाण खोजिएको हो, मध्यस्थता होइन : प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विषयमा आफूले दिएको अघिल्लो अभिव्यक्तिबारे प्रष्टीकरण दिँदै आफ्नो राष्ट्रियतामाथि कुनै शंका नगर्न आग्रह गरेका छन् । केही समयअघि संसदमा नेपालले पनि विभिन्न ठाउँमा भारतको सीमा मिचेको अभिव्यक्ति दिएपछि आलोचना खेपिरहेका प्रधानमन्त्री शाहले आफ्नो धारणा स्पष्ट पार्दै यस्तो बताएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री शाहले नेपाल–भारत सीमा समस्या समाधानका लागि कुनै तेस्रो मुलुकको मध्यस्थता खोजिएको नभई ऐतिहासिक प्रमाण संकलन र अध्ययनको विषय मात्र उठाइएको बताए ।
उनले विशेषगरी कालापानी, लिपुलेक र लिम्पियाधुरासम्बन्धी प्रमाणका विषयमा ब्रिटिसकालीन दस्तावेज अध्ययन गर्न खोजिएको उल्लेख गरे ।
“हामीले सीमाको विषयमा बोल्दा उहाँहरूले पनि आफ्नो आपत्ति जनाउनुभयो । मलाई अचम्म लाग्यो । तपाईंहरूसँग प्रमाण छ भने ल्याउनुस्, हामीसँग पनि प्रमाण छ । कालापानी लिपुलेकको प्रमाण छ,” प्रधानमन्त्री शाहले भने ।
उनले ब्रिटिस शासनकालका दस्तावेज तथा प्रमाणका आधारमा सीमा विषयलाई बुझ्न खोजिएको स्पष्ट पार्दै त्यसलाई मध्यस्थताको रूपमा नबुझ्न आग्रह गरे ।
“ब्रिटिसलाई मध्यस्थकर्ता बनाउन खोजेका होइनौं । हामी हाम्रो छिमेकीसँग आफैं कुरा गरेर समस्या समाधान गर्छौं । हामीसँग प्रमाण छ र त्यो ल्याउने कुरा गरेका हौं,” उनले भने ।
प्रधानमन्त्री शाहले सीमा जस्तो संवेदनशील विषयमा आफ्नो भनाइलाई गलत अर्थ नलगाउन आग्रह गर्दै भने, “यसमा आशंका मान्नु पर्दैन । मेरो राष्ट्रियतामा कुनै पनि आशंका गर्नु पर्दैन ।”
यसअघि संसदमा उनले नेपाल र भारतबीचको सीमा विवादबारे बोल्ने क्रममा राखेको धारणा विवादमा परेको थियो । उनको उक्त भनाइपछि सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म व्यापक आलोचना भएको थियो ।
प्रधानमन्त्री शाहले पछिल्लो अभिव्यक्तिमार्फत आफू नेपालको हित र सार्वभौमिकताको पक्षमा रहेको सन्देश दिन खोजेका छन् । सीमा समस्या समाधानका लागि तथ्य, प्रमाण र कूटनीतिक संवाद नै प्रमुख आधार हुनुपर्ने उनको भनाइ थियो ।