भारतीय अवरोधले चिया उद्योग बन्द, दैनिक २ करोडको हरियो पत्ती नष्ट


विराटनगर । भारतीय चिया बोर्डले गुणस्तर परीक्षणका नाममा नेपाली चियाको निर्यातमा डेढ महिनादेखि अवरोध गरेपछि इलाम र झापाका झण्डै सय चिया उद्योग बन्द भएका छन्। उद्योग बन्द हुँदा किसानको दैनिक ५ लाख किलो हरियो चिया पत्ती बिक्री हुन नसकी बगानमै नष्ट भइरहेको छ।

उद्योगीहरूका अनुसार इलाम र झापामा दैनिक २ करोड रुपैयाँभन्दा बढी मूल्यको हरियो चिया पत्ती घाँसमा परिणत भइरहेको छ। निर्यात रोकिएपछि करिब १२ लाख किलो तयारी चिया उद्योगमै थन्किएको छ भने भारतमा पुगेको २ लाख किलोभन्दा बढी चिया पनि परीक्षण रिपोर्ट नआउँदा गोदाममै रोकिएको छ।

चिया उत्पादकहरूले समस्या समाधानका लागि सरकार, कूटनीतिक निकाय र सरोकारवालासँग पहल भइरहेको बताएका छन्।

२०८३ असार ५, शुक्रबार १९:१८ प्रकाशित
ट्रेन्डिङ समाचार