काठमाडौं ।लामो तनाव, युद्धविराम र अन्तर्राष्ट्रिय दबाबपछि अमेरिका र इरानबीच बहुप्रतिक्षित शान्ति सम्झौता अन्तिम चरणमा पुगेको दाबी गरिएको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले आगामी २४ घन्टाभित्र दुई देशबीच औपचारिक सहमति सार्वजनिक हुनसक्ने संकेत दिएका छन्।
प्रधानमन्त्री सरिफले सामाजिक सञ्जाल एक्समार्फत अमेरिका र इरान शान्ति प्रक्रियाको निर्णायक मोडमा पुगेको उल्लेख गर्दै प्रारम्भिक समझदारीमा दुवै पक्ष सहमत भइसकेको बताएका छन्। उनका अनुसार केही प्राविधिक र राजनीतिक विषय टुंगिएसँगै सम्झौताले अन्तिम रूप लिनेछ।
“हामी अहिलेसम्मकै सबैभन्दा संवेदनशील र निर्णायक चरणमा पुगेका छौं। आगामी २४ घन्टाभित्र औपचारिक सहमति हुनसक्ने सम्भावना बलियो छ,” सरिफले लेखेका छन्। उनले त्यसपछि विद्युतीय हस्ताक्षर प्रक्रिया अघि बढ्ने र अर्को साता प्राविधिक तहको विस्तृत वार्ता सुरु हुने जानकारी पनि दिएका छन्।
अमेरिका र इरानबीच अप्रिल ७ मा युद्धविराम घोषणा भएपछि पाकिस्तानले मुख्य मध्यस्थकर्ताको भूमिका निभाउँदै आएको छ। पछिल्लो समय कतार पनि कूटनीतिक पहलमा सक्रिय देखिएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार युद्ध अन्त्य, समुद्री मार्ग खुला गर्ने तथा आर्थिक प्रतिबन्ध खुकुलो बनाउने विषयमा दुवै पक्षबीच मोटामोटी सहमति भइसकेको छ। विशेषगरी विश्व ऊर्जा आपूर्तिसँग प्रत्यक्ष जोडिएको स्ट्रेट अफ हर्मुज पुनः सञ्चालन गर्ने विषयलाई सम्झौताको मुख्य उपलब्धिका रूपमा हेरिएको छ।
युद्धपछिको तनावका कारण इरानले हर्मुज जलमार्गमा अवरोध गरेपछि अमेरिकाले पनि त्यहाँ नौसैनिक उपस्थिति बढाउँदै इरानी बन्दरगाहमाथि कडा निगरानी र नाकाबन्दी गरेको थियो। अहिलेको प्रस्तावअनुसार इरानले जलमार्ग पुनः खुला गर्ने र बदलामा अमेरिकाले तेल निर्यातमाथिका केही प्रतिबन्ध खुकुलो पार्ने तथा रोक्का राखिएका अर्बौं डलर बराबरका सम्पत्ति क्रमशः फुकुवा गर्ने समझदारी बनेको बताइएको छ।
यद्यपि आणविक कार्यक्रम र उच्च समृद्ध युरेनियमको विषयमा भने अझै गम्भीर मतभेद कायमै छन्। अमेरिकाले इरानले भविष्यमा परमाणु हतियार विकास नगर्ने स्पष्ट प्रतिबद्धता खोजिरहेको छ भने तेहरान त्यसलाई आफ्नो सार्वभौम अधिकारसँग जोडेर हेर्दै आएको छ।
इरानसँग रहेको करिब ४०० किलो उच्च समृद्ध युरेनियमको व्यवस्थापनबारे पनि दुई देशबीच सहमति जुट्न बाँकी रहेको स्रोतहरूले बताएका छन्। अमेरिकाले उक्त सामग्री अन्तर्राष्ट्रिय निगरानी वा आफ्नो नियन्त्रणमा दिनुपर्ने प्रस्ताव अघि सारेको छ भने इरान त्यसमा सहज देखिएको छैन।
इरानी विदेशमन्त्री अब्बास अराग्चीले शुक्रबार सरकारी टेलिभिजनमार्फत सम्बोधन गर्दै “इरान दबाबमा होइन, आफ्नो अडानसहित वार्तामा पुगेको” बताएका थिए। उनले युद्धपछि इरान झन् सशक्त बनेको दाबी गर्दै सम्झौताका केही प्रावधान अन्तिम समयमा फेरबदल हुन सक्ने संकेत पनि गरेका छन्।
प्रस्तावित समझदारीमा युद्धपछिको क्षतिपूर्ति, क्षेत्रीय सुरक्षा संयन्त्र र इरानको क्षेप्यास्त्र कार्यक्रमसँग सम्बन्धित अमेरिकी मागहरूलाई पनि छुट्टै चरणमा छलफल गर्ने व्यवस्था राखिएको बताइएको छ।
युद्ध अन्त्यतर्फ विश्व समुदायले आशा बढाइरहेका बेला अन्तिम समयमा हुने कुनै राजनीतिक, सैन्य वा कूटनीतिक घटनाक्रमले प्रक्रिया प्रभावित पार्न सक्ने जोखिम भने अझै बाँकी रहेको अन्तर्राष्ट्रिय विश्लेषकहरूको आकलन छ।

