काठमाडौं । काठमाडौंमा आयोजित नयाँ शक्तिको स्थापना दिवस कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले मुलुकमा उदाउँदै गरेका वैकल्पिक राजनीतिक शक्तिहरू विचारशून्य, तर्कहीन र विध्वंसात्मक प्रवृत्तितर्फ उन्मुख भएको टिप्पणी गर्नुभएको छ।
उहाँले नयाँ पुस्तामा विचार र सिद्धान्तभन्दा सेलेब्रिटी संस्कृति र आक्रामक अभिव्यक्तिप्रतिको आकर्षण बढ्दै गएको भन्दै यसले लोकतान्त्रिक अभ्यास कमजोर बनाइरहेको बताउनुभयो। साथै सामाजिक सञ्जालमा बढ्दो गालीगलौज र तर्कहीन बहसले राजनीतिक वातावरण बिग्रँदै गएको उहाँको धारणा थियो।
राउतले संसद र लोकतान्त्रिक प्रक्रियामाथि प्रश्न उठ्ने प्रवृत्ति चिन्ताजनक भएको उल्लेख गर्दै प्रधानमन्त्रीले संसदमा उपस्थित भएर जनप्रतिनिधिका प्रश्नको जवाफ दिनुपर्ने परम्परा कमजोर हुँदै गएको टिप्पणी गर्नुभयो।
उहाँले राज्यको ‘डोजर संस्कृति’को आलोचना गर्दै अवैध संरचना भत्काउने नाममा राष्ट्रिय सम्पत्तिको विनाश भइरहेको भन्दै वैकल्पिक व्यवस्थापनको आवश्यकता औँल्याउनुभयो। विचार र सिद्धान्तविहीन राजनीतिले देशलाई सही दिशा दिन नसक्ने भएकाले दलहरूभित्र आत्मसमीक्षा आवश्यक रहेको पनि उहाँको भनाइ थियो।

