सीमा विवादको समाधान कूटनीतिक संवादबाट खोज्नुपर्छ : आङदेम्बे
काठमाडौं । नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बे ले नेपाल–भारत सीमा विवादजस्ता संवेदनशील विषयको समाधान आवेग र उत्तेजनाबाट नभई संयमित तथा कूटनीतिक संवादमार्फत खोजिनुपर्ने बताएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूभाग भएको उल्लेख गर्दै सीमा विवादको समाधान गम्भीर संवाद र कूटनीतिक प्रक्रियाबाट हुनुपर्ने बताए।
सांसद आङदेम्बेले नेपालीहरू स्वाभिमानी राष्ट्रका नागरिक भएको उल्लेख गर्दै राष्ट्रिय भावना र स्वतन्त्रताको चेतनालाई कायम राख्नुपर्ने धारणा व्यक्त गरे। साथै, उनले प्रधानमन्त्रीको हालैको सीमा सम्बन्धी अभिव्यक्तिप्रति प्रश्न उठाउँदै यस्ता विषयमा जिम्मेवार र सावधानीपूर्ण अभिव्यक्ति आवश्यक रहेको बताए।