सागर पण्डित, काठमाडौं । नेपाललाई पछिल्लो समय विभिन्न अपराधिक गतिविधिको सुरक्षित थलो बनाउने प्रयास तीव्र बन्दै गएपछि अध्यागमन विभागले आक्रामक कारवाही थालेको छ । पर्यटन, व्यापार, अध्ययन वा अन्य बहानामा नेपाल प्रवेश गरेर गैरकानुनी धन्दा चलाउने, भिसाको दुरुपयोग गर्ने, यौनशोषण, लागूऔषध कारोबार, विदेशी मुद्रा कसूर र शंकास्पद गतिविधिमा संलग्न ५ सय २३ जना विदेशी नागरिकलाई विभागले देशनिकाला गरेको छ ।
अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार नेपाललाई अपराधको ‘सेफ जोन’ बनाउने छुट अब कसैलाई नदिइने स्पष्ट सन्देशसहित निगरानी र कारबाही तीव्र बनाइएको हो ।
उनले भने, “नेपाल कुनै पनि विदेशी अपराधीका लागि खुला खेलमैदान होइन । पर्यटक बनेर आउने अनि यहाँ बसेर अपराधिक जालो फैलाउनेमाथि अब कडा एक्सन हुन्छ ।”
विभागका प्रवक्ता तथा निर्देशक टिकाराम ढकालका अनुसार सन् २०२५ जनवरी १ देखि डिसेम्बर ३१ सम्म विभिन्न गैरकानुनी गतिविधिमा संलग्न ५२३ विदेशी नागरिकलाई डिपोर्ट गरिएको हो । तीमध्ये मात्रै ३८० जना ओभरस्टे अर्थात् भिसा अवधि सकिएपछि पनि गैरकानुनी रूपमा नेपालमै बसिरहेका भेटिएका थिए ।
तर, अध्यागमनको तथ्यांकले देखाएको भयावह पक्ष ओभरस्टे मात्रै होइन । नेपालमा बसेर लागूऔषध कारोबार गर्ने, विदेशी मुद्रा कारोबारमा संलग्न हुने, महिला तथा बालिकामाथि यौन हिंसा गर्ने, जबर्जस्ती करणीमा संलग्न हुने तथा शंकास्पद गतिविधि सञ्चालन गर्ने विदेशीको संख्या पनि उल्लेख्य देखिएको छ ।
इटली, सिरिया, थाइल्याण्ड लगायत विभिन्न देशका नागरिक लागूऔषध कारोबारमा संलग्न रहेको पाइएको छ । कतिपय विदेशी पर्यटकको आवरणमा नेपाल प्रवेश गरेर अन्तर्राष्ट्रिय आपराधिक नेटवर्कसँग जोडिएको गतिविधिमा सक्रिय रहेको आशंका समेत सुरक्षा निकायको छानबिनमा देखिएको स्रोतको दावी छ ।
अध्यागमन विभागका अनुसार धेरै विदेशी नेपालमा ‘टुरिस्ट भिसा’ लिएर आउने, तर यहाँ आएपछि भिसाको उद्देश्य विपरीत गतिविधिमा संलग्न हुने प्रवृत्ति तीव्र देखिएको छ । केही विदेशीले काठमाडौं उपत्यकालाई नै शंकास्पद गतिविधिको केन्द्र बनाउने प्रयास गरेको बताइएको छ ।
विशेष गरी चिनियाँ नागरिक संलग्न केही गतिविधिले सुरक्षा निकायलाई गम्भीर बनाएको छ । विभागका निर्देशक ढकालका अनुसार केही चिनियाँ नागरिकले नेपाली युवतीहरुलाई पैसा, विवाह र विदेश लैजाने प्रलोभन देखाएर यौनशोषण गर्ने गरेको तथ्य फेला परेको छ ।
केही समयअघि काठमाडौंको म्हेपी र गल्कोपाखा क्षेत्रमा चिनियाँ नागरिकले भाडामा लिएका अपार्टमेन्टमा छापा मार्दा चकित पार्ने दृश्य फेला परेको थियो । अध्यागमन विभाग र सिआइबीको संयुक्त टोलीले गरेको कारबाहीका क्रममा तीन नेपाली युवती र दुई चिनियाँ युवक मादक पदार्थ सेवन गरी रसरंगमा लिप्त अवस्थामा भेटिएका थिए । उनीहरु पूर्ण रूपमा निवस्त्र अवस्थामा फेला परेको स्रोतले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानमा ती अपार्टमेन्टहरु केवल बसोबासका लागि नभई नेपाली युवतीलाई प्रयोग गरेर यौन शोषण र शंकास्पद नेटवर्क सञ्चालनका लागि प्रयोग भइरहेको आशंका गरिएको थियो । पक्राउ परेका चिनियाँ नागरिकलाई आवश्यक प्रक्रिया पूरा गरी देशनिकाला गरिएको विभागले जनाएको छ ।
सुरक्षा निकायका अनुसार काठमाडौंका केही अपार्टमेन्ट, होटल र भाडाका फ्ल्याट विदेशी गिरोहका लागि ‘सेफ हाउस’ जस्तै बन्न थालेको गुनासो बढिरहेको छ । विशेष गरी नेपाली युवतीलाई आर्थिक प्रलोभन, विदेश लैजाने सपना र विवाहको आश्वासन देखाएर शोषण गर्ने क्रम बढ्दो रहेको भन्दै अध्यागमन विभागमा लगातार उजुरी पुग्ने गरेको छ ।
यति मात्रै होइन, विदेशी मुद्रा कारोबार, साइबर गतिविधि, अनधिकृत वित्तीय कारोबार र अवैध नेटवर्क सञ्चालनमा समेत विदेशी नागरिकको संलग्नता बढ्दो रहेको भन्दै सुरक्षा निकायले निगरानी बढाएको छ ।
अध्यागमन विभागले अब होटल, अपार्टमेन्ट, होस्टेल र भाडाका घरमा बस्ने विदेशीमाथि थप निगरानी गरिने संकेत दिएको छ । विभागका अधिकारीहरुका अनुसार नेपाललाई खुला र सुरक्षित समाजको गलत फाइदा उठाउँदै अपराधिक गिरोहले जालो फैलाउने प्रयास गरेपछि ‘क्लिनअप अपरेशन’ नै सञ्चालन गरिएको हो ।
अध्यागमनकाअधिकारीहरुका अनुसार नेपाललाई ट्रान्जिट, सेफ हाउस वा अपराध सञ्चालन केन्द्र बनाउने जो–कोही विदेशीमाथि अब थप कठोर कदम चालिनेछ ।

