राष्ट्रिय गौरवका आयोजनामा बजेट छरिँदा समयमै सम्पन्न हुन सकेन : पूर्वअर्थमन्त्री पाण्डे
काठमाडौं । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे ले आगामी आर्थिक वर्षको बजेटले केही क्षेत्रगत प्राथमिकतामा पर्याप्त ध्यान दिन नसकेको बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा उनले सरकारले धेरै राष्ट्रिय गौरवका आयोजना घोषणा गरे पनि पर्याप्त बजेट विनियोजन नहुँदा ती आयोजना समयमै सम्पन्न हुन नसकेको टिप्पणी गरे।
पाण्डेका अनुसार हाल सञ्चालनमा रहेका करिब २४–२५ राष्ट्रिय गौरवका आयोजनामा थोरै–थोरै बजेट बाँडिँदा कुनै पनि आयोजना प्रभावकारी रूपमा अघि बढ्न सकेका छैनन्। उनले सीमित र उच्च प्राथमिकताका आयोजनामा स्रोत केन्द्रित गर्न सके अर्थतन्त्रलाई ठूलो लाभ हुने बताए।
उनले द्रुतमार्गजस्ता परियोजना छिटो सम्पन्न भए यातायात, ढुवानी र व्यापारमा उल्लेखनीय सुधार आउने उल्लेख गर्दै स्पष्ट प्राथमिकता निर्धारण आवश्यक रहेको बताए। साथै, अधिकांश मन्त्रालयको बजेट पुरानै संरचनामा निरन्तर रहेको भन्दै उच्च प्रतिफल दिने योजनामा बढी लगानी गर्नुपर्ने धारणा राखे।
पाण्डेले उधारो असुली समस्या व्यवसायीका लागि प्रमुख चुनौती भएको भन्दै धेरै देशमा जस्तै नेपालमा पनि प्रभावकारी कानुनी तथा सरकारी संयन्त्र आवश्यक रहेको बताए। उनले पेट्रोलियम मूल्यवृद्धि र अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलाको अनिश्चितताका कारण रासायनिक मलको अभाव र मूल्यवृद्धिको जोखिम बढेको पनि औंल्याए।