काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल (एपीएफ) का १५ जना वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा तथा ८ जनाको विभिन्न बाहिनी र विभागमा पदस्थापना गरेको छ।
मन्त्रालयको निर्णयअनुसार विनोद राज श्रेष्ठलाई महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट राष्ट्रिय सुरक्षा परिषद् सचिवालय सिंहदरबारमा सरुवा गरिएको छ भने किरण ढुङ्गानालाई सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोमा खटाइएको छ। भूपेन्द्र केसीलाई मानवस्रोत विभागबाट भण्डार महाशाखा र सुधीर जंग थापालाई कार्य विभागमा सरुवा गरिएको छ।
यस्तै, रबिन राज कर्णजितलाई सीमा सुरक्षा विभागबाट कार्य विभागमा तथा भरत खनियालाई विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सीमा सुरक्षा विभागमा पठाइएको छ। जहार सिंह बुढा मगरलाई एपीएफ कमाण्ड तथा स्टाफ कलेज र जनक पुरीलाई युएन शान्ति स्थापना तालिम शिक्षालय ककनीमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले ८ जना एसएसपीलाई विभिन्न बाहिनी र विभागमा पदस्थापना पनि गरेको छ। पदस्थापना हुनेमा दीपक कुमार थापा, सुधीर सुवेदी, महेश केसी, प्रकाश कुमार सुवेदी, चित्राङ्गत दाहाल, सुभाष भण्डारी, प्रदीप सिंह कार्की र संजय भट्टराई रहेका छन्।
अन्य सरुवा हुने एसएसपीहरूमा कमल प्रसाद तिउसीना, उद्धव बहादुर न्यौपाने, गंगाराम श्रेष्ठ, विकास घिमिरे, यादव विश्वकर्मा, टोपबहादुर खनाल र अशोक कुमार बम रहेका छन्। मन्त्रालयले संगठनको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन सरुवा तथा पदस्थापनाको निर्णय गरेको जनाएको छ।


