काठमाडौँ । काठमाडौँमा प्रतिनिधिसभाको आजको शून्य समयमा सांसदहरूले वर्षा सुरु भएसँगै धान रोपाइँको समय नजिकिँदै गएको उल्लेख गर्दै किसानका लागि समयमै मल, बीउ र कृषि औजारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
बैठकमा सांसदहरूले कृषि सामग्रीको अभावसँगै वैदेशिक रोजगारी, सार्वजनिक सेवा, पूर्वाधार, शिक्षा, ऊर्जा र यातायातलगायत विभिन्न समसामयिक समस्यामा सरकारको ध्यानाकर्षण गराए। उनीहरूले वैदेशिक रोजगारीमा नेपाली कामदारको सुरक्षा, निःशुल्क भिसा–टिकटका नाममा हुने असहजता, तथा विदेशमा मृत्यु भएका श्रमिकको शव ल्याउन हुने कठिनाइबारे पनि चासो व्यक्त गरे।
त्यस्तै, पर्यटन बोर्डका समस्या समाधान, सार्वजनिक यातायात सुधार, डिजिटल बैंकिङ प्रणालीको विश्वसनीयता, विद्युत् तथा टेलिफोन सेवाको सुधार, सडक पूर्वाधार विकास, तथा सरकारी निर्णय प्रक्रियामा पारदर्शिताजस्ता विषयमा पनि सांसदहरूले सरकारलाई सुझाव दिएका छन्।
शिक्षा क्षेत्रमा गुणस्तर सुधार र त्रिभुवन विश्वविद्यालयको प्रणालीबारे समेत छलफल गर्दै सांसदहरूले व्यवहारिक र गुणस्तरीय शिक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।

