राष्ट्र बैंकद्वारा ७ अर्ब रुपैयाँ मुद्दती निक्षेपका लागि ब्याजदर प्रस्ताव आह्वान
काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषअन्तर्गत रहेको ७ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्न बैंक तथा वित्तीय संस्थासँग ब्याजदर प्रस्ताव आह्वान गरेको छ। बैंकले २०२६ मे २२ देखि २०२७ मे २२ सम्म ३६६ दिनका लागि रकम राख्ने गरी इच्छुक संस्थालाई प्रस्ताव पेस गर्न आग्रह गरेको हो।
उक्त रकममध्ये ‘क’ वर्गका वाणिज्य बैंकका लागि ५ अर्ब ६० करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकका लागि १ अर्ब ५ करोड रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीका लागि ३५ करोड रुपैयाँ छुट्याइएको छ।
प्रस्ताव पेस गर्न इच्छुक संस्थाले पासवर्ड सुरक्षित PDF ढाँचामा २०८३ जेठ ६ गते साँझ ७ बजेसम्म इमेलमार्फत पठाउनुपर्नेछ भने पासवर्ड २०८३ जेठ ७ गते बिहान १० बजेसम्म बुझाउनुपर्नेछ।
राष्ट्र बैंकले न्यूनतम दुई वर्ष सञ्चालन पूरा भएको, तोकिएको पुँजीकोष, एनपीएल, तरलता, कर्जा–निक्षेप अनुपात तथा नाफासम्बन्धी मापदण्ड पूरा गरेको हुनुपर्ने शर्त राखेको छ। समस्याग्रस्त वा शीघ्र सुधारात्मक कारबाहीमा परेका संस्थाले भने कम्तीमा ६ महिना फुकुवा भएको हुनुपर्नेछ।
राष्ट्र बैंकका अनुसार प्रस्ताव गरिएको ब्याजदर तोकिएको अवधिभर स्थिर रहनेछ र बीचमा आउने अन्य ब्याजदर परिवर्तनले असर गर्ने छैन।