काठमाडौं
२०७९ मंसिर ४ मा भएको निर्वाचनमा भन्दा यसपटक बढी सुरक्षा चुनौती रहेको निष्कर्ष केन्द्रीय सुरक्षा समितिले निकालेको छ। ३ वर्षपहिलेकै मतदान केन्द्र अनुसार जिल्लाजिल्लाबाट विवरण माग गरेर अध्ययन गर्दा यस्तो पाइएको गृह मन्त्रालयले जनाएको छ ।
समितिको तथ्यांक अनुसार गत निर्वाचनमा भन्दा यसपटक ५७२ वटा बढी मतदान केन्द्रमा सुरक्षा चुनौती थपिएको छ। २०७९ मंसिरको निर्वाचनमा २ हजार ९४६ वटा मतदान केन्द्रलाई अति संवेदनशील मानिएको थियो। तर यसपटक पुनः वर्गीकरण गर्दा ३ हजार ५१८ वटा मतदान केन्द्र सुरक्षाका हिसाबले अति संवेदनशील देखिएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।
तर अहिले पनि मतदाता नामावली संकलन भइरहेकाले मतदान केन्द्र थपघट हुन सक्नेछन्। निर्वाचन आयोगले मतदान केन्द्र निश्चित गरिसकेपछि थप विश्लेषण हुने र सुरक्षा योजना बनाइने प्रवक्ता आनन्द काफ्लेले बताए।
यसअघि निर्वाचन आयोगले १० हजार ९२६ मतदान केन्द्र तोकेको थियो। ती मतदान केन्द्रलाई सुरक्षा संवेदनशीलताका आधारमा वर्गीकरण गर्दा ३ हजार ५१८ वटा अति संवेदनशील देखिएका छन्।
यस्तै, संवेदनशील मतदान केन्द्र पनि एक सय बढी थपिएका छन्। गृह मन्त्रालयका प्रवक्ता काफ्लेले अहिले ४ हजार ५२९ मतदान केन्द्र संवेदनशील देखिएको बताए। गत निर्वाचनमा ४ हजार ४२३ वटा मतदान केन्द्र थिए।
२ हजार ८७९ वटा मतदान केन्द्रको सुरक्षा अवस्था सामान्य रहने आकलन गरिएको छ। यसअघिको निर्वाचनमा ३ हजार ३८७ सामान्य थिए। निर्वाचन आयोगले मतदान केन्द्रको अन्तिम टुंगो लगाएपछि त्यही अनुसार बाँकी मतदान केन्द्र वर्गीकरण गरेर सुरक्षा व्यवस्था मिलाइने पनि प्रवक्ता काफ्लेले बताए।
उनले भने, ‘सुरक्षा संवेदनशीलता छ। सरकारले सोही अनुसार पहिचान गरेर योजना बनाएको छ। अब योजना अनुसार सुरक्षाकर्मीहरु फिल्डमा खटिन्छन्। हरेक कर्मचारीलाई, मतदातालाई, उम्मेदवारलाई सुरक्षाको प्रत्याभूति सरकारले दिन्छ।’

