वीरगञ्ज । छठ पर्व नजिकिएसँगै सिर्सिया नदीको प्रदूषण नियन्त्रण र सरसफाइ अभियानलाई तीव्रता दिइएको छ। नदीमा रसायनयुक्त तथा प्रशोधन नगरिएको फोहोर पानी मिसाउने उद्योगमाथि सरकारले निगरानी बढाएको छ।
उद्योग विभागले कात्तिक १४ गते उद्योगहरूलाई प्रशोधन नगरेको पानी नदीमा नछोड्न निर्देशन दिएको छ। साथै, उद्योगहरूको संयुक्त अनुगमन तथा निरीक्षण गर्ने तयारी गरेको छ।
कात्तिक १५ गते प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले नदी प्रदूषण नियन्त्रणका लागि पाँचबुँदे निर्णय गरेको थियो। बैठकले उद्योगका प्रशोधन केन्द्र २४ सै घण्टा पूर्ण क्षमतामा सञ्चालन गर्न, ढल व्यवस्थापन गर्न तथा साझा प्रशोधन केन्द्र स्थापनाको सम्भाव्यता अध्ययन गर्न निर्देशन दिएको छ।
यसअघि नदी प्रदूषण गरेको पुष्टि भएपछि १२ उद्योगलाई जनही १० लाख रुपैयाँका दरले कुल १ करोड २० लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको थियो।
छठ पर्वमा श्रद्धालुले स्वच्छ वातावरणमा नदी किनारमा पूजा तथा अर्घ्य दिन सकून् भन्ने उद्देश्यले सरसफाइ र अनुगमनलाई प्राथमिकता दिइएको छ।




प्रतिक्रिया