काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराईमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार मङ्गलबारदेखि मौसममा बदली बढ्दै जानेछ। बुधबार देशभर साधारणतया बादल लाग्ने र कोशी, बागमती तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
बिहीबार भने मौसम थप बदली हुने पूर्वानुमान छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपात हुन सक्नेछ।
त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा समेत भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।




प्रतिक्रिया