बैंकक । म्यान्मारको पश्चिमी रखाइन राज्यमा सेनाले गरेको हवाई हमलामा कम्तीमा ४९ जनाको मृत्यु भएको छ भने ५८ जना घाइते भएका छन्।
अराकान आर्मी र उद्धारमा संलग्न अधिकारीका अनुसार सोमबार क्याउक्ताव टाउनसिपको स्थानीय बजारनजिक लडाकु विमानले दुईवटा बम खसालेको थियो। मृतकमध्ये बजारका व्यापारी, सामान किन्न आएका ग्राहक तथा बाटो हिँडिरहेका सर्वसाधारण रहेको बताइएको छ। घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर रहेको अराकान आर्मीले जनाएको छ।
उद्धारमा संलग्न वरिष्ठ अधिकारी वाई हुन आङले उद्धारकर्मीबाट प्राप्त विवरणका आधारमा हताहतको संख्या पुष्टि गरेका छन्। उनका अनुसार उक्त बजार रखाइनका प्रमुख थोक व्यापार केन्द्रमध्ये एक थियो।
हमलापछि सार्वजनिक तस्बिर तथा भिडियोमा भवनमा आगलागी, सवारीसाधनमा क्षति तथा नजिकैको पुलको केही भाग भत्किएको देखिएको बताइएको छ। घटनाबारे म्यान्मारको सेनाले तत्काल प्रतिक्रिया दिएको छैन। सेनाले यसअघि भने वैध सैन्य संरचनालाई मात्र निशाना बनाउने दाबी गर्दै आएको छ।
क्याउक्ताव म्यान्मारको दोस्रो ठूलो सहर माण्डलेबाट करिब ३४० किलोमिटर पश्चिममा पर्छ। उक्त क्षेत्र अराकान आर्मीको नियन्त्रणमा रहेको बताइएको छ। यद्यपि, घटनाको विवरण स्वतन्त्र रूपमा पुष्टि गर्न कठिन रहेको समाचारमा उल्लेख छ।
सन् २०२१ मा सेनाले निर्वाचित सरकारबाट सत्ता कब्जा गरेपछि म्यान्मारमा जारी गृहयुद्धका क्रममा हवाई हमला नियमित रूपमा हुँदै आएका छन्। रखाइन राज्यमा अराकान आर्मीले सन् २०२३ नोभेम्बरदेखि सैन्य अभियान तीव्र बनाएको छ।

प्रतिक्रिया