काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्ने विषयमा छलफल तथा अध्ययनलाई अघि बढाएको छ।
आयोगले विदेशमा रहेका नेपालीको संख्या यकिन गर्ने, मतदाता नामावलीमा समावेश गर्ने प्रक्रिया तय गर्ने र मतदानका लागि उपयुक्त विधि पहिचान गर्ने विषयमा सरोकारवाला तथा विज्ञसँग छलफल गरिरहेको जनाएको छ।
प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार विदेशस्थित नेपाली दूतावास तथा कूटनीतिक नियोगको भूमिकासहित मतदान केन्द्रको सम्भावित व्यवस्था, मतपत्र व्यवस्थापन तथा अन्य प्राविधिक र प्रशासनिक पक्षबारे समेत अध्ययन भइरहेको छ।
आयोगले परराष्ट्र मन्त्रालयको सहजीकरणमा विभिन्न मुलुकस्थित नेपाली राजदूतावास तथा कूटनीतिक नियोगका प्रमुखसँग छलफल गरिसकेको छ।
आयोगले दूतावास तथा कन्सुलेटमा मतदान केन्द्र स्थापना गर्ने, हुलाकमार्फत मतदान गराउने, प्रतिनिधिमार्फत मतदान गर्ने तथा विद्युतीय वा मिश्रित माध्यमबाट मतदान गराउने विकल्पबारे समेत अध्ययन गरिरहेको जनाएको छ।

प्रतिक्रिया