स्याङ्जा । नागरिकताको सरकारी अभिलेखमा अनधिकृत हेरफेर गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाका तीन कर्मचारीमाथि छानबिन सुरु भएको छ।
छानबिनमा पर्नेमा प्रशासकीय अधिकृत सूर्यप्रसाद शर्मा, लेखापाल रमेश बिक र कम्प्युटर अपरेटर विष्णुप्रसाद चापागाईं छन्। उनीहरूको भूमिकाबारे अनुसन्धान गरी आवश्यक कारबाहीका लागि प्रहरीलाई पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी निराजन घिमिरेले जानकारी दिए।
कास्कीमा दुई बालबालिकाको नाबालक परिचयपत्र बनाउन पेस गरिएका कागजात रुजु गर्दा उनीहरूका बुबाको नाममा दुईवटा नागरिकता रहेको भेटिएपछि घटना सार्वजनिक भएको हो। अभिलेखअनुसार उनले २०५६ चैत ३ गते स्याङ्जाबाट नागरिकता लिएका थिए भने २०५७ भदौ २५ गते कास्कीबाट पुनः अर्को नागरिकता लिएको देखिएको छ।
दुईवटा नागरिकता भेटिएपछि कास्की प्रशासनले स्याङ्जाबाट जारी भएको नागरिकता रद्द गरिएको भए त्यसको कानुनी प्रक्रिया, निर्णय तथा सम्बन्धित अभिलेख मागेको थियो।
प्रजिअ घिमिरेका अनुसार प्रारम्भिक छानबिनमा कर्मचारीले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर सरकारी अभिलेख तथा मन्त्रालयको प्रणालीमा रहेको नागरिकताको विवरणमा हेरफेर गरेको विषय देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

प्रतिक्रिया