काठमाडौं । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले देशभर वर्षा भइरहेको छ। पूर्वी क्षेत्रमा वर्षा केही घट्ने भए पनि आज रातिदेखि पश्चिमी भूभागमा वर्षा बढ्ने मौसमविद्हरूले बताएका छन्।
लगातारको वर्षाका कारण खोला तथा नदीमा बहाव बढ्नुका साथै विभिन्न स्थानमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएका छन्। मौसम पूर्वानुमान महाशाखाले गण्डकीदेखि पश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा उच्च जोखिम संकेत गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार आज १२ जिल्लामा बाढीको उच्च जोखिम रहेकामा शनिबार जोखिम क्षेत्र बढेर २६ जिल्लासम्म पुग्ने अनुमान छ। आइतबारदेखि सातै प्रदेशका साना नदी तथा खोलामा आकस्मिक बहाव बढ्न सक्ने जनाइएको छ।
सप्तकोशीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रमा आगामी दुई दिन उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया