भारत–चीनसँग ठूलो घाटा, निर्यात बढे पनि नेपालको व्यापार असन्तुलन कायमै


काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालको वैदेशिक व्यापार घाटा ३ खर्ब २४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा नेपालले ४ खर्ब १ अर्ब ५१ करोड रुपैयाँको वस्तु आयात गर्दा ७६ अर्ब ५८ करोड ७५ लाख रुपैयाँको निर्यात गरेको छ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात ३१.५८ प्रतिशत र निर्यात ६१.८६ प्रतिशतले बढेको छ। तर, आयातको आधार ठूलो भएकाले व्यापार घाटा २६.०२ प्रतिशतले बढेको हो।

नेपालको व्यापार भारत र चीनमा अत्यधिक निर्भर देखिएको छ। पहिलो दुई महिनामा भारतबाट २ खर्ब २१ अर्ब ८ करोड र चीनबाट ७६ अर्ब ४ करोड रुपैयाँको वस्तु आयात भएको छ। भारततर्फ ६५ अर्ब ४४ करोड रुपैयाँको निर्यात भए पनि चीनतर्फ निर्यात २९ करोड ३३ लाख रुपैयाँमा सीमित छ।

भारतसँग १ खर्ब ५५ अर्ब ६३ करोड र चीनसँग ७६ अर्ब १० करोड रुपैयाँ व्यापार घाटा भएको छ। यी दुई मुलुकसँग मात्रै नेपालको व्यापार घाटा करिब २ खर्ब ३१ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ।

नेपालले १२६ देशसँग व्यापार गरेकामा ३० देशसँग मात्रै व्यापार बचत र ९६ देशसँग घाटा रहेको तथ्यांक छ। डेनमार्कसँग सबैभन्दा बढी २१ करोड ४५ लाख रुपैयाँ व्यापार नाफा भएको छ।

निर्यात वृद्धिमा सोयाबिन तेलको योगदान ठूलो देखिएको छ। दुई महिनामा करिब ३६ अर्ब ४ करोड रुपैयाँको सोयाबिन तेल निर्यात भएको छ। यद्यपि सोही अवधिमा करिब ३८ अर्ब ५ करोड रुपैयाँको सोयाबिन तेल आयात भएकाले निर्यात वृद्धिलाई मात्रै आधार मानेर घरेलु उत्पादन र मूल्य अभिवृद्धि बढेको निष्कर्ष निकाल्न नसकिने देखिन्छ।

समग्र तथ्यांकले निर्यात वृद्धि भए पनि आयातमा उच्च निर्भरता र प्रमुख व्यापारिक साझेदारसँगको ठूलो घाटाका कारण नेपालको वैदेशिक व्यापारमा संरचनागत असन्तुलन कायमै रहेको देखाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार