काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनबाट जोखिममा रहेका हिमाली तथा साना टापु विकासशील राष्ट्रबीच सुदृढ सहकार्य आवश्यक रहेको बताएका छन्।
न्युयोर्कमा संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी मन्त्री खनालले जलवायु जोखिममा रहेका राष्ट्रहरूको मञ्च (CVF) को बैठकमा जलवायु न्याय सुनिश्चित गर्न सामूहिक प्रयास आवश्यक रहेको बताए।
उनले हिमनदी पग्लने, हिमताल विस्फोटजन्य बाढी तथा आँधीबाट हिमाली र टापु राष्ट्रले समान प्रकृतिका क्षति व्यहोर्नुपरेको उल्लेख गरे। नेपालमा भोटेकोशी बाढीले सडक, जलविद्युत्, विद्यालय, अस्पताल तथा स्थानीय समुदायको जीविकोपार्जनमा पारेको क्षतिलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले जलवायु परिवर्तनले दिगो विकासमा चुनौती थपेको बताए।
मन्त्री खनालले जलवायु उत्थानशील पूर्वाधार, विकास वित्त प्रणालीमा सुधार, पूर्वसूचना प्रणालीमा लगानी तथा हानि–क्षतिसम्बन्धी वित्तीय सहायता प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

प्रतिक्रिया