नयाँ डिजाइनको १ हजारको नोट चलनचल्तीमा


काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ डिजाइन तथा विशेषतासहितको १ हजार रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याएको छ।

राष्ट्र बैंकका अनुसार ‘सिरिज २०२५’ को नयाँ नोट साविककै आकारमा रङ परिवर्तन गरी जारी गरिएको हो। नोटमा बैजनी घेराभित्र फिक्का हरियो रङ प्रयोग गरिएको छ।

नोटको अग्रभागमा सगरमाथाको चित्र, लालीगुराँस र ‘१०००’ अंकित पानीछाप राखिएको छ। दृष्टिविहीन व्यक्तिले स्पर्शबाट नोट पहिचान गर्न सक्ने गरी रोमन अक्षर ‘एम’ र तेर्सा रेखासमेत राखिएको छ। यस्तै, सुनौलो तथा हरियो देखिने भगवतीको चित्र र रातो तथा हरियो देखिने चलायमान सुरक्षण धागो राखिएको छ।

नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ। पृष्ठभागमा चितवनको सरकारी हात्तीसारमा जन्मिएका दुर्लभ जुम्ल्याहा हात्ती राम र लक्ष्मणको चित्र राखिएको छ। साथै, सात प्रदेशलाई जनाउने सातवटा लालीगुराँस र हनुमानढोकास्थित ल्होँचोकको ऐतिहासिक थामको आकृति समावेश गरिएको छ।

नयाँ नोटको संकेत नम्बर ९२०००००१ बाट सुरु गरिएको राष्ट्र बैंकले जनाएको छ। यसअघि प्रचलनमा रहेको ‘सिरिज २०१९’ को १ हजार रुपैयाँको नोटको संकेत नम्बर ६८२००००१ देखि ९१४४०००० सम्म जारी गरिएको थियो।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार