दुई महिनामा ६१ अर्ब ऋण, विकास खर्च ७ अर्ब मात्रै


काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ६१ अर्ब ५ करोड ७० लाख रुपैयाँ नयाँ सार्वजनिक ऋण उठाएको छ। तर सोही अवधिमा पुँजीगत खर्च भने ७ अर्ब ६६ करोड ४८ लाख रुपैयाँ मात्रै भएको छ।

सरकारले चालु आर्थिक वर्षमा ६ खर्ब ५८ अर्ब २८ करोड ७ लाख रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ। भदौ मसान्तसम्म लक्ष्यको ९.२८ प्रतिशत ऋण उठिसकेको छ। उठाइएको ऋणमध्ये ५० अर्ब रुपैयाँ आन्तरिक र ११ अर्ब ५ करोड ७० लाख रुपैयाँ बाह्य ऋण रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।

यसै अवधिमा सरकारले ४ खर्ब ३१ अर्ब १० करोड रुपैयाँको पुँजीगत बजेटमध्ये १.७८ प्रतिशत मात्रै खर्च गर्न सकेको छ। यसले ऋण परिचालनको गति र विकास खर्चबीच ठूलो अन्तर देखाएको छ।

उता, नयाँ ऋण उठाउनुभन्दा पुरानो ऋणको साँवा–ब्याज भुक्तानीमा सरकारले बढी रकम खर्च गरेको छ। भदौसम्म ७० अर्ब १३ करोड ६९ लाख रुपैयाँ साँवा र १४ अर्ब ८७ करोड ३७ लाख रुपैयाँ ब्याज गरी कुल ८५ अर्ब १ लाख ६ हजार रुपैयाँ ऋण सेवा भुक्तानी भएको छ।

सरकारको कुल सार्वजनिक ऋण दायित्व पनि २९ खर्ब ७३ अर्ब ५ करोड ९२ लाख रुपैयाँ पुगेको छ। यसमध्ये १३ खर्ब ६१ अर्ब ८७ करोड ९ लाख रुपैयाँ आन्तरिक र १६ खर्ब ११ अर्ब १८ करोड ८३ लाख रुपैयाँ बाह्य ऋण रहेको छ।

दुई महिनाको तथ्यांकले सरकारले ऋण उठाउने गति तीव्र बनाए पनि त्यसअनुसार विकास निर्माणमा खर्च गर्न नसकेको देखाएको छ। ऋण सेवा भुक्तानीमा ठूलो रकम खर्च भइरहेका बेला पुँजीगत खर्च कमजोर हुँदा ऋणबाट प्राप्त स्रोतको उपयोगिता र त्यसबाट सिर्जना हुने प्रतिफलमाथि प्रश्न उठेको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार